काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सांसद् साहले बुधबार उजुरी दिएपछि अन्सारीलाई सोही दिन दिउँसो नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनलाई आज अदालत पेस गरिने एसपी कुँवरले बताए ।
‘अहिले उहाँलाई प्रहरी हिरासतमा राखिएको छ । अब कसुरको प्रकृति हेरेर अदालती प्रक्रियामा अघि बढ्छ । त्यसका लागि तयारी भइरहेको छ,’ एसपी कुँवरले भने ।
उनका अनुसार विद्युतीय कारोबार ऐनले घृणा, द्वेष र अफवाह फैलाउने गतिविधिलाई निषेध गरेको छ । ‘उजुरी परेपछि सोही आधारमा नियन्त्रणमा लिइएको हो,’ उनले भने ।
अन्सारीले फेसबुकमा सांसद् साहले चुनावी बाचाअनुसार काम नगरेको आरोप लगाउँदै आक्रामक स्टाटस राखेका थिए । सोही पोस्टका आधारमा साहले उजुरी दिएका हुन् ।
अन्सारीले एक पोस्टमा लेखेका छन्, ‘मेरो ओपन च्यालेन्ज छ । कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटिन्छ, त्यहीँ दल्ने हो । आफ्नो मेनिफेस्टोअनुसार १ प्रतिशत पनि काम नगरेको जनताले खुलासा गरिरहेका छन् ।’
यसअघि पनि उनले अर्को पोस्टमार्फत सांसद् साहलाई प्रश्न गर्दै लेखेका थिए, ‘बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहज्यू, तपाईं क्षेत्र अनुगमन गर्न आउनुभएको रहेछ भन्ने सुनेको छु । तपाईंले चुनावी घोषणापत्रअनुसार के काम गर्नुभयो ? यदि गर्नुभएको छैन भने कालो मसी दलेर फेरि काठमाडौं पठाउनेछौँ । भरतचोकमा भेट्नुस्, म कालो मसी दल्नेछु । तपाईंलाई मेरो ओपन च्यालेन्ज छ ।’
अन्सारीका एक निकटस्थका अनुसार सांसद् साह निर्वाचन क्षेत्रमा पुगेका बेला उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे पनि भौतिक रूपमा कुनै विरोध कार्यक्रममा सहभागी भएका थिएनन् ।

