काठमाडौँ । रास्वपा सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने बताएपछि अहिलेको शासनसत्ताको केन्द्र बनेको सिंहदरबारको इतिहास फेरि चर्चामा आएको छ । ढकालले आइतबार एक कार्यक्रममार्फत यस्तो धारणा राखे पनि सिंहदरबार कुनै सामान्य सरकारी भवनको नाम होइन, राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निवासका रूपमा निर्माण गराएको १ सय २२ वर्ष पुरानो दरबार हो ।
चन्द्रशमशेरले विसं १९६० मा सिंहदरबारको निर्माण सुरु गराएका थिए । करिब ३५० रोपनी जग्गा किनेर निर्माण थालिएको यो दरबार करिब ११ महिनामै तयार भएको थियो । यसको नक्सा नेपाली इन्जिनियर कर्णेल कुमार नरसिंह र भारतीय इन्जिनियर जोगेन्द्रबाबुले तयार गरेका थिए । दरबार निर्माणमा नेपाली सैनिक र लामो सजाय पाएका कैदीहरूलाई समेत काममा लगाइएको थियो । चन्द्रशमशेरले व्यक्तिगत रूपमा करिब २५ लाख रुपैयाँ खर्च गरेको उल्लेख पाइन्छ ।
सिंहदरबारमा करिब १ हजार ७ सय कोठा र विभिन्न चोक थिए । यसको वास्तुकलामा नियोक्लासिकल शैलीको प्रभाव थियो । बाहिरी संरचनामा पश्चिमा शैली झल्किए पनि निर्माणमा आधुनिक सिमेन्ट प्रयोग गरिएको थिएन । बज्र, चाकु, मासको दाललगायत सामग्री प्रयोग गरेर गारो बनाइएको उल्लेख छ ।
सिंहदरबार नाम कसरी रह्यो त ?
सिंहदरबारको नाम कसरी रह्यो भन्नेबारे भने फरक–फरक भनाइ छन् । इतिहासकार पुरुषोत्तमशमशेर जबराले लेखेको विवरणअनुसार, दरबार बनेपछि एक दिन चन्द्रशमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई लिएर दरबारको कौसीमा पुगे । त्यहाँबाट बाघदरबार देखाउँदै चन्द्रशमशेरले ‘ऊ बाघदरबार’ भनेर देखाए । त्यसपछि बालकुमारी देवीले ‘त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ?’ भनेर प्रस्ताव गरेको र चन्द्रशमशेरलाई त्यो प्रस्ताव मन परेपछि नाम ‘सिंहदरबार’ राखिएको भनाइ छ ।
अर्को भनाइअनुसार राणाकालीन प्रधानमन्त्रीहरूलाई सिंहजस्तै शक्तिशाली मानिन्थ्यो । चन्द्रशमशेरको रिसाहा र जंगी स्वभावलाई पनि सिंहसँग तुलना गरिन्थ्यो । दरबारको अगाडिको छानामा रहेको सिंहको प्रतीकसँग जोडेर मानिसहरूले यसलाई ‘सिंहदरबार’ भन्न थालेको इतिहासकार राजेश गौतमको मत छ । यो मतअनुसार नाम चन्द्रशमशेर स्वयंले राखेका थिएनन् ।
चन्द्रशमशेरले भने सिंहदरबार मूलतः आफ्नो ठूलो परिवार र छोराहरूका लागि बनाएका थिए । पछि छोराहरूले एउटै दरबारमा नबस्ने र छुट्टाछुट्टै दरबार बनाउने इच्छा देखाएपछि उनले सिंहदरबार राष्ट्रलाई बिक्री गरेर प्रधानमन्त्रीको निवास बनाउने निर्णय गरेको बताइन्छ । त्यसपछि यो राणा प्रधानमन्त्रीहरूको निवास र शासन सञ्चालनको प्रमुख केन्द्र बन्यो ।
२००७ सालको राजनीतिक परिवर्तनपछि सिंहदरबार श्री ५ को सरकारको स्वामित्वमा आयो । त्यसपछि सरकारी सचिवालय र शासन सञ्चालनको केन्द्रका रूपमा यसको भूमिका स्थापित भयो । आज सिंहदरबार नेपालको राज्यसत्ता र शासन सञ्चालनको प्रमुख प्रतीकका रूपमा चिनिन्छ ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा सिंहदरबारको मूल भवन जलाइयो । तर सिंहदरबार जलेको यो पहिलो पटक भने होइन । २५ असार २०३० को सोमबार राति १० बजे विद्युत् सर्ट भएर आगो दन्किएको थियो । आगोले सिंहदरबारका सबै घरको बुर्जा, कौसी र छाना जल्यो । सिंहदरबारका बहुमूल्य कागज–पत्र खरानी भए ।
यस्तो ऐतिहासिक पृष्ठभूमि बोकेको सिंहदरबारको नाम फेरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने सांसद ढकालको भनाइको सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भएका छन् । कान्तिपुर