काठमाडौँ । सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको अभियोग लागेका रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतले उनलाई मंगलबार सफाइ दिएको हो।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले सफाइ दिने फैसला गरेको हो।
आर्थिक वर्ष ०८१–८२ मा सबइन्जिनियर मोहन शाहको करार सेवा थप गर्न मेयर बादीले एक लाख घुस लिएको अभियोग लागेको थियो र आर्थिक वर्ष ०८२–८३ को सेवा अवधि थप गर्न पनि उनले एक लाख घुस मागेको, तर नदिएपछि शाहलाई बर्खास्त गरेको उजुरी परेको थियो।
अघिल्लो वर्ष एक लाख घुस दिएको पुष्टि भएको भन्दै सबइन्जिनियर शाहविरुद्ध पनि अख्तियारले मुद्दा दायर भएकामा उनले पनि सफाइ पाएका छन्।

