काठमाडौँ । सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद्को साउन २६ गते बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो।
बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ। सहिद घोषित हुनेमा सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहा जिल्लाका गणेशकुमार यादव हुनुहुन्छ।
यसैगरी सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बारा निवासी निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने निर्णयसमेत मन्त्रीपरिषद् बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

