सुर्खेत यातायात कार्यालयमा एकद्वार सेवा लागू

सुर्खेत यातायात कार्यालयमा एकद्वार सेवा लागू

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा ‘एकद्वार सेवा’ लागू गरिएको छ । कार्यालयबाट प्रवाह गरिने सेवालाई छिटो, छरितो, पारदर्शी र जनमैत्री बनाउने उद्देश्यले एकद्वार सेवा प्रवाह प्रणाली लागू गरिएको हो ।

जनशक्ति अभाव झेलिरहेको कार्यालयले एकद्वार सेवा सुरु गरेपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको कार्यालयका प्रमुख मुकुन्दनाथ योगीले बताए । उनका अनुसार कर्मचारीलाई पनि काम गर्न सजिलो हुनेछ ।

सवारीसाधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारीसाधन जाँचपास, सवारीचालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी प्रक्रियाका लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनु नपर्ने गरी सेवा सुरु गरिएको उनले बताए । ‘अब सेवाग्राहीलाई सेवा लिन ढिलाइ नहुने विश्वास गरिएको छ,’ उनले भने ।

सात वर्षअघि स्थापना भएको प्रदेशस्तरीय यो कार्यालयले जनशक्ति र पूर्वाधारको अभाव झेलिरहेको थियो । यसले कार्यसम्पादनमा कठिनाइ भइरहेको कार्यालय प्रमुख योगीले बताए ।

सेवा कार्यालयका रूपमा मात्रै रहेको यसलाई २०७० मा यातायात व्यवस्था एकाइ कार्यालयमा स्तरोन्नति गरिएको थियो । सङ्गीयतापछि २०७५ मा प्रदेश सरकारमातहत सञ्चालन हुने गरी यातायात व्यवस्था कार्यालय बनाइएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार