सुर्खेत । तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग गर्दै सल्यानमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।
एमएम एकेडेमी बाल क्लबको आयोजनामा सदरमुकाम खलंगामा सोमबार भएको प्रदर्शनमा सहभागी विद्यार्थीले दोषीमाथि कडा कानुनी कारबाही गर्न र भविष्यमा यस्ता जघन्य अपराध दोहोरिन नदिने गरी बालबालिकाका लागि सुरक्षित समाज निर्माण गर्न माग गरेका हुन् ।
गरिमाको लागि न्याय भनेको दोषीलाई सजाय दिने मात्र नभएर अबका दिनमा अर्को गरिमा जन्मनु अघि नै त्यस्तो अपराध हुन नदिने सुरक्षित समाज निर्माण गर्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थीको र्यालीले खलंगा बजार परिक्रमा गरेर पुरानो बसपार्क पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा एमएम एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा समीक्षा केसी, हेड गर्ल प्राप्ति देवकोटा, कक्षा ९ मा अध्ययनरत छात्राहरू जेनिशा पुन, गरिमा कुमाइ, दीपा कवर लगायतले बोल्दै गरिमाका दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका थिए । बालबालिकाको सुरक्षा सुनिश्चित गर्न परिवार, विद्यालय, समुदाय र राज्यको संयुक्त जिम्मेवारी आवश्यक रहेको उनीहरूको भनाइ छ।
बाराको जितपुरसिमरा १, भक्तिनगरकी गरिमा गत साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । खोजतलासका क्रममा भदौ २ गते उनको शव घरनजिकैको खाली घरमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टम परीक्षणबाट उनीमाथि बलात्कारपछि हत्या भएको खुलेको थियो ।

