काठमाडौँ । श्रीमान्ले बन्चरो प्रहार गर्दा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा श्रीमतीसहित चार जना घाइते भएका छन् ।
घरायसी विवादमा चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरायसी सामान्य विवादका क्रममा उनले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा दाउरा काट्ने बन्चरोले प्रहार गरेका थिए ।
घाइते चारै जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई एम्बुलेन्समार्फत दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

