नेपालमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा

नेपालमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा भएको छ । चीनको वुहान युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा गएको वर्षको माघ १० गते कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक वर्षको अवधिमा नेपालमा दुई लाख ६९ हजार एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १ हजार ९ सय ९४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये दुई लाख ६३ हजार सात सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् भने उनीहरु मध्ये एक सय ४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार पनि नेपालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि साउन छ गतेसम्म एक सय २० दिन देशव्यापी लकडाउन र त्यसपछि विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षको अवधिमा सात हजार सात सय पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ भने ११ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार