कर्मचारीलाई स्थायी गर्न काठमाडौँ महानगरले विधेयक ल्याउँदै

कर्मचारीलाई स्थायी गर्न काठमाडौँ महानगरले विधेयक ल्याउँदै

काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन संघ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ।

कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको हो। काठमाडौँ बैठकमा कामपामा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक, २०७७ लाई सुझावसहित स्वीकृत गरेको हो।

स्वीकृत विधेयकमा कर्मचारीको नियुक्ति, पदमा रहँदा पालना गर्नुपर्ने आचरण, सेवामा रहँदा वा सेवाबाट अवकास हुँदाका सर्त तथा सुविधालगायतका व्यवस्था छन्।

विधेयकमा समूह, सेवा परिवर्तन, पदीय आचरण, कर्मचारीले प्राप्त गर्ने सुविधा, सुरक्षा, पुरस्कार, दण्ड सजायसम्बन्धी व्यवस्था, पिरमर्का सुनुवाइ, पुनरावेदनलगायत व्यवस्था गरिएको छ।

उक्त विधेयक यही फागुन २४ गते बसेको अधिवेशनको दोस्रो बैठकमा पेश गरिएको थियो। स्वीकृत ऐनबमोजिम महानगरमा अब प्रशासन, प्राविधिक र विविध गरी तीन समूह हुनेछन्।

यसैगरी सभामा दुई हजार २७२ जनशक्ति रहने दरबन्दी प्रस्ताव गरिएको थियो। यसअघि दुई हजार २५८ को दरबन्दी थियो।

वडामा अधिकतम १५ र न्यूनतम नौ कर्मचारीको दरबन्दी प्रस्ताव थियो। यो ठूलो, मझौला र सानो वडाका आधारमा तय गरिएको हो।

यही फागुन ४ गते सुरु भएको अधिवेशनको पहिलो बैठकले ‘समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ स्वीकृत गरेको थियो।

यो ऐनका आधारमा महानगरका एक हजार ५५० कर्मचारीले एक तह माथिल्लो पदमा समायोजन पत्र पाएका छन्।

बैठकमा प्रस्तावित विषयमा उठेका प्रश्नको उपप्रमुख हरिप्रभा खड्गी र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जवाफ दिएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार