हिंसाविरुद्ध एकजुट हुदै रुकुम पश्चिमका महिला

हिंसाविरुद्ध एकजुट हुदै रुकुम पश्चिमका महिला

मुसिकोट । रुकुम पश्चिममा क्रियाशील अधिकारकर्मी महिलाहरु आवद्ध संस्थाहरुले ‘महिलामाथि हुने हिंसाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार  संचालन गरेका छन्। महिला पुर्नस्थापना केन्द्र ओरेक रुकुमको सहकार्यमा अन्तरपार्टी महिला संजाल, महिला मानव अधिकार रक्षक संजाल, इन्सेक र हरप्लेसको आयोजनामा संचालन भएको सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो।

अन्तरपार्टी महिला संजालका अध्यक्ष लुम्बिनी गौतमको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख इन्दिरा बुढामगर, मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार, त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट, चौरझारी नगरपालिकाका उपप्रमुख राधा रोका, सानोभेरी गाउँपालिकाका उपाध्यक्ष इन्दिरा वली, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे, बार अध्यक्ष गणेश हमाल, रेडक्रस सभापति रमा गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी लगायत अन्य पत्रकार र नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो।

ओरेक रुकुमका दिपा धितालले प्रस्तुत गरेको कार्यपत्रमाथि खुला छलफल भएको थियो। खुला छलफलमा सहभागीले महिला हिंसा न्युनीकरणमा सबैले चासो दिनु पर्ने बताएका थिए। मुसिकोट नगरपालिका उपप्रमुख पे्रमकुमारी सुनारले महिला हिंसासम्बन्धी थुप्रै घटनाहरु भइरहेको बताइन्। ‘न्यायिक समितिमा पनि महिला हिंसाका खालका घटनाहरु आइ नै रहन्छन्। ती घटनाहरुलाई समाधान गर्ने कुरामा कानुनी प्रक्रियामा जानुपर्दछ तर त्यो ढङ्गगबाट जानलाई पुर्वाधार र कानुन अधिकृतको कमी छ।’

चौरझारी नगरपालिकाका उपप्रमुख राधा रोकाले महिलामाथि हुने हिंसा बढिरहेको बताउँदै महिलालाइ आत्मनिर्भर बनाउनु पर्ने बताइन्। ‘काम गर्दा कानुनी जटिलताहरु त आउँछन् तर त्यसलाई समाधान गर्न राज्यले पनि ध्यान पुर्याउनु पर्दछ। महिलाहरु अग्रस्थानमा भएपनि निर्णायक भुमिकामा छैनौं। महिला हिंसाका घटनामा पनि पिडितलाई उचित न्याय दिनुपर्दछ भने घटना अभिलेख मात्र नगरी समस्या समाधान पनि गर्नुपर्दछ।’

सानोभेरी गाउँपालिका इन्दिरा ओली महिला हिंसासम्बन्धी न्यायिक समितिमा पनि घटनाहरु आइरहने गरेको बताउँदै ‘कानुनी प्रक्रियामा जानलाई हामीसँग कानुनी सल्लाहकार छैन। कानुनी प्रक्रिया नमिलाउने हो भने हामीलाई नै चुनौती हुन्छ। त्यसैले यस्ता विषयमा गम्भिर भएर सोच्नुपर्दछ ।’

त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले महिला हिंसा प्रत्येक घरघरमा रहेको बताउँदै कतिपयले हिंसा बाहिर ल्याउन नचाहको बताइन्। ‘महिला हिंसा सम्बन्धी बिषयमा महिलालाइ मात्र सचेत गराउनु भन्दा पनि पुरुषलाई सचेत गराउनुपर्दछ। काम गर्ने क्रममा पनि महिलालाई भन्दा पुरुषलाई प्र्राथमिकता दिने गर्दा महिलाहरु हिंसामा पर्दछन्। महिला हिंसाको घटनामा पनि कुनै राजनैतिक हस्तक्षेप नगरी स्वतन्त्र रुपले पिडितलाई न्याय दिनुपर्दछ।’

जिल्ला समन्वय समितिका इन्दिरा बुढामगरले आफूहरुले मानवीय विकास भन्दा भौतिक पुर्वाधारलाई जोड दिएको बताउँदै हिंसाका घटनाहरु त धेरै छन् तर ती घटना निम्त्याउने कारणहरु पनि बाहिर ल्याउनुपर्ने बताइन्। तथ्याङ्कमा महिला हिंसाका घटना बढिरहँदा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेले महिला हिंसासम्बन्धी घटनाहरु धेरै घटेको बताए।

भर्खरै रुकुम त्रिवेणी गाउँपालिकामा भएको मनकला खत्रीको हत्या घटनामा अनुसन्धान कमजोर भएको भन्दै सहभागीले गुनासो राखेका थिए।

सोही कार्यक्रममा उपप्रमुखहरुले न्यायिक समितिमा बसेर न्याय सम्पादन गर्दा आफूलाई आएका चुनौतीका बारेमा पनि बोलेका थिए। कानुनको ज्ञान र कानुनी सल्लाहकार नहुँदा काम गर्न असहज भएको उनीहरुको ठहर थियो। सहभागी जनप्रतिनिधि लगायतले यस्ता प्रकारका अन्र्तक्रिया कार्यक्रम हरेक स्थानीय तहहरुमा गर्नुपर्ने बताएका थिए।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार