बोक्सीको आरोपमा बुहारीमाथि बञ्‍चरो प्रहार

बोक्सीको आरोपमा बुहारीमाथि बञ्‍चरो प्रहार

चैत २८ रुपन्देही

रुपन्देही कञ्‍चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्‍चरो प्रहार गरेका छन् । कञ्‍चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार २८ वर्षीया छोराबुहारी लीलामाथि बञ्‍चरो प्रहार गरी घाइते बनाएका हुन् ।

घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको बञ्चरोबाट सख्‍त घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए ।  लीलाको टाउकोमा गहिरो चोट लागेका कारण स्वास्थ्य जटिल छ ।

लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई बन्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए ।

पौडेलले बुहारीमाथि पटकपटक दुर्व्यवहार गर्दै आएको छिमेकी बताउँछन् । “लीलाका श्रीमान् (छोरा) कोठामा भएका बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई बञ्‍चरोले हिर्काएछन् । हामीले थाहा पाएर जाँदा उनी रगताम्य भएर भुइँमा ढलेकी थिइन् । हतारहतार अस्पताल पुर्‍यायौँ, अहिलेसम्म होस आएको छैन,” छिमेकी पुष्प शर्माले भने ।

घटनापछि लीलाका पति तिलकरामले आफ्ना बुबाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मुद्दा दायर गरेको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । “पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ,” उनले भने । –रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार