बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना

बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटीइभिटी) ले आफ्नै १०० शय्याको अस्पताल भएका नर्सिङ क्याम्पसका लागि भर्ना प्रक्रिया सुरु गर्ने भएको छ।

सिटीइभिटी अन्तर्गतका अन्य विषयको भर्ना प्रक्रिया यसअघि नै अगाडि बढेको भए पनि नर्सिङको भने अझै हुन सकेको छैन। परिषदका अध्यक्ष समेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको परिषद् बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेपछि परिषदले भर्ना प्रक्रिया अगाडि बढाउन लागेको हो।

सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।

बज्राचार्यका अनुसार सय शय्याका आफ्नै अस्पताल भएका नर्सिङ क्याम्पसको संख्या २४ रहेको छ।

‘एकदुई दिनमा नै भर्ना खोल्नलाई तयारी हुँदैछ,’ उनले भने, ‘१०० बेडको अस्पताल भएका नर्सिङ क्याम्पसले मात्र भर्ना लिन पाउँछन्, यस्तो क्याम्पस २४ वटा मात्र छन्।’

पठनपाठनका लागि अनुमति पाउने २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा सिटीइभिटीका आंगिक कलेज हुन्। सिटीइभिटीका आंगिक क्याम्पसले एक सय शय्याका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन पाउने भएका हुन्।

चिकित्सा शिक्षा ऐनको दफा १२ मा नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य रुपमा एक सय शय्याको अस्पताल हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार सरकारले मापदण्ड पूरा गरेका र आफ्नै अस्पताल भएका कलेजले मात्र पठनपाठन गर्न पाउने गरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार