प्रहरीले बल प्रयोग गरेपछि बारले बोलायो आकस्मिक बैठक

प्रहरीले बल प्रयोग गरेपछि बारले बोलायो आकस्मिक बैठक

नेपाल बार एसोसिएसनले आफूहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आकस्मिक बैठक बोलाएको छ। बारका पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेका बार इकाइका प्रतिनिधिलाई बैठकमा बोलाइएको छ।

बैठक केहीबेरपछि नेपाल बार एसोसिएसनको भवन रामशाह पथमा बस्नेछ। यसअघि बारले प्रहरीले गरेको ‘दमन’विरुद्ध अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थामा उजुरी गर्ने चेतावनी दिइसकेको छ।

नेपालको मानव अधिकार आयोगसहित अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थामा उजुरी दिने बारले चेतावनी दिएको हो। नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको, हतियारसहितका प्रहरी प्रवेश गरेको भन्दी आपत्ति जनाए।

बिहीबार प्रहरीले लाठी प्रहार गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे घाइते भएका थिए।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

काननु व्यवसायीहरु सर्वोच्चको मूल गेटमा बसेपछि प्रधानन्यायाधीश राणा यसअघि महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक प्रवेशद्वारबाट सर्वोच्च प्रवेश गर्दै आएका थिए।

राणा उक्त बाटोबाट प्रवेश गर्न थालेको भन्दै नेपाल बार एसोसिएसन, सर्वोच्च बार लगायतका कानुन व्यवसायीले रोक्नका लागि बिहीबार प्रयास गरेका थिए। तर, उनीहरुलाई प्रहरीले अघि बढ्न दिएन।

प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै कानुन व्यवसायी राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार