बैठकमै गाउँपालिका उपाध्यक्षले कुर्सी हानेपछि अध्यक्षको दाँत भाँचियो

बैठकमै गाउँपालिका उपाध्यक्षले कुर्सी हानेपछि अध्यक्षको दाँत भाँचियो

सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलमाथि उपाध्यक्ष उषाकुमारी मण्डलले कुर्सी प्रहार गरेर दाँत भाँचिदिएकी छन् ।

किसानलाई गहुँको विऊ वितरण कसरी वितरण गर्ने भन्ने विषयमा अध्यक्ष मण्डलले आज दिउँसो कार्यपालिका बैठक डाकेका थिए । बैठकमा विवाद चर्केपछि अध्यक्ष मण्डल बाहिर निस्किन लाग्दा उपाध्यक्ष मण्डलले कुर्सी प्रहार गरेकी थिईन् ।

मुखमै कुर्सी लागेपछि अध्यक्ष मण्डलको दुईवटा दाँत भाचिएको एक कार्यपालिका सदस्यले बताए ।

उनले भने, ‘बैठकमा अध्यक्ष मण्डलले गाउँपालिका कार्यालयबाटै गहुंको विऊ वितरण गर्ने अडान लिएका थिए । तर उपाध्यक्ष मण्डलले वडाबाट वितरण हुनुपर्ने जिद्दि गरेपछि अध्यक्ष बाहिर निस्किन खोजे । त्यतिकैमा उपाध्यक्ष आक्रोशित भएर कुर्सी प्रहार गरिन् ।’

उपाध्यक्ष मण्डलले कुर्सी प्रहार गरेको स्वीकारेकी छन् । तर अध्यक्षको दांत भाचिएको कुरा थाहा नपाएको बताइन् । अध्यक्षले अपशब्द बोलेपछि कुर्सी हानेको उपाध्यक्ष मण्डलले दावी गरिन् ।

तत्कालिन नयां शक्ति पार्टीबाट निर्वाचित अध्यक्ष मण्डल हाल जसपामा छन् । तत्कालिन राजपाबाट निर्वाचित उपाध्यक्ष मण्डल भने लोसपामा छिन् । उनीहरुबीच विगत दुई वर्षदेखि विवाद चलिरहेको स्थानीय बताउछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार