प्रहरी जवान आइसोलेसनमा भर्ना

प्रहरी जवान आइसोलेसनमा भर्ना

चैत २९ काठमाडौं

भारतसँग सीमा जोडिएको बैतडी जिल्लाको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ ।

दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत हुनुहुन्थ्यो ।

प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभएको छ ।

३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो ।  जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा जोशीको भनाइ रहेको छ ।

प्रहरी जवानको ‘थ्रोट स्वाब’ सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको अस्पतालले जनाएको छ ।  यसअघि पनि जिल्ला अस्पताल बैतडीमा दुई जनालाई कोरोनाको आशङ्कामा आइसोलेसनमा भर्ना गरिएको थियो । परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले लकडाउनका बेला पनि अवैधरुपमा महाकाली नदीमा ट्युबमा तरेर आउनेक्रम नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार