डोनाल्ड ट्रम्पका सहयोगीको कोरोना भाइरसका कारण निधन

डोनाल्ड ट्रम्पका सहयोगीको कोरोना भाइरसका कारण निधन

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।  ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन भएको हो ।

 

न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्रिफिङ्गको क्रममा ट्रम्पले बताएका थिए ।  उनको कोभिड–१९ कै कारण शनिबार निधन भएको द न्यूयोर्क टाइम्सले नजिकका तीन साथीलाई उद्धृत गर्दै जनाएको छ । चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो ।

 

अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर रहेको न्यूयोर्क सिटीका बासिन्दा चेरा मार्चको सुरुमा न्यू जर्सी गएका थिए । कोरोना भाइरसको महामारी सुरु भएसँगै न्यूयोर्क सिटीका धेरै धनाड्याहरु अर्को ठाउँ गएका थिए । चेरा पनि भाइरसको संक्रमण नहोस् भन्नका लागि बाहिरिएका थिए । तर उनलाई कहाँबाट संक्रमण भएको हो भन्ने पुष्टि भएको छैन ।

 

ट्रम्पले ह्वाइट हाउस ब्रिफिङ्गको क्रममा बारम्बार आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएको र त्यसले समस्या उत्पन्न भएको बताउने गरेका थिए । उनले चेराको नाम नलिए पनि ट्रम्पसँग नजिक स्रोतका अनुसार ती व्यक्ति चेरा नै रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार