माओवादी आठौँ महाधिवेशन¸ केसस छनौट र रुकुमको सेरोफेरो

माओवादी आठौँ महाधिवेशन¸ केसस छनौट र रुकुमको सेरोफेरो

हुनत् राजनीतिक विषय लेख्ने वित्तिकै मान्छेको समग्र पक्ष नहेरी कतिपय मित्रहरुले चाकडी गर्यो या विरोध गर्यो भनी फ्याट्टै टिप्पणी गरिहाल्नुहुन्छ । राजनीति सार्वजनिक सरोकारको विषय हो । राजनीतिक नेतृत्व पनि सार्वजनिक विषय हो र त्यसमा समिक्षा या टिप्पणी गर्न पाउनु सबैको अधिकार हो । भोट हाले पनि नहालेपनि राजनीतिबाट निर्वाचित व्यक्तिले नै सरकार हाँक्ने हो । सरकारसंग सबै नागरिकको सरोकार रहन्छ । त्यसैले सरकारको महत्पुर्ण तथा मुख्य अङ्ग राजनीति र राजनीतिक नेतृत्वको बारेमा टिप्पणी गर्नु अन्यथा होइन ।

 

रुकुम जिल्लामै जन्मिई¸ रुकुम जिल्लामै हुर्की¸ रुकुम जिल्लामै सेवारत रहेको र रुकुम जिल्लाकै सचेत नागरिक भएको कारणले पनि रुकुम जिल्ला सम्बन्धित केही घटनाक्रमबारे टिप्पणी गर्नुपर्ने हुन्छ । आफ्नो व्यक्तिगत धारणा लेख्नुपर्ने हुन्छ । लेखिरहेको ज्यान नलेख्दा कताकता खसखस लाग्छ र लेखिन्छ । केही मित्रहरुले फेसबुक¸ अनलाइनमा पेशा वा जागिरीसम्बन्धी कुरा मात्र लेखौँ भन्नुहुन्छ । उहाँहरुलाई मेरो अनुरोध के छ भने यो मेरो ब्यक्तिगत नाममा प्रकट व्यक्तिगत विचार हो । अफिस वा कार्यालयसंग सम्बन्धी कुरा अलग्गै आउछन् । कार्यालयसम्बन्धी कुरा कार्यालयकै नाममा आउंछन् । व्यक्तिका निजी विचारका कुरा पनि हुन्छन् । जागिरी खानु भनेको व्यक्तिगत विचारलाई पूर्णतया बन्द र प्रतिवन्ध लाउनु होइन । विचार प्रकट गर्न पाउनुपर्छ । रोजिरोटीको पेशा जागिरी र स्वतन्त्र विचार फरक कुरा हुन् । जागिरीमा आवद्द नहुँदै २०५३ सालदेखि पत्रपत्रिकामा लेख्न थालिएको हो । जागिरी खाने अवधि ५८ बर्ष पुगेपछि पनि लेख्ने हो । उहिले छापा पत्रपत्रिका र डायरीमा लेखिन्थ्यो । अहिले फेसबुक¸ अनलाइनहरुमा लेखिन्छ । र निरन्तर लेखिरहने हो । मैले लेख्दैमा कोही झस्किनुपर्ने¸ तर्सिनुपर्ने¸ हतोत्साहित र आक्रोशित हुनुपर्ने कुनै कारण छैन । कसैलाई पनि नकारात्मक असर नपर्नेगरी सकेसम्म मिलाएर नै लेखिन्छ । राजनीतिमा लागेका नेता बाहेक अरुको बारेमा सार्वजनिक रुपमा टिप्पणी गरिएको छैन । गरिने छैन । बिनारामले के लेख्यो ? “मलाई लेख्खेल्यो” कि भनी कोही नतर्सिनु होला । मैले लेख्ने¸ टिप्पणी गर्ने मान्ठ ठुलै हुन । कोही असम्बन्धित स्याना मान्ठहरु नतर्सिनुहोला । लोकतन्त्रमा नेतृत्वको बारेमा लेख्नु¸ बोल्नु¸ मुल्याङ्कन¸ समिक्षा गर्नु¸ आफ्ना विचार¸ धारणा तथा अनुभव प्रकट गर्न पाउनु सम्बन्धित क्षेत्रका मतदाता र आम नागरिकको मौलिक हक हो । फेरि पनि राजनीति र नेताको बारेमा केही टिप्पणी गर्दा चाकडी नसम्झनुहोला । एउटै खाटमा सुतेका मान्ठ मन्त्री हुंदा पनि भेटिएन । शक्ति¸ सत्ता र मन्त्रीमा वहाल भएकाहरुलाई अति आवश्यक काम बाहेक भेटघाट¸ सम्पर्क गरिन्न । के खो चाकडी गर्नु ? हिजो संगै साथ गरेका कैयन मित्रहरु मन्त्री हुंदा [email protected] ले कहिल्यै फोन गरेको वा सम्पर्क गरेको प्रमाण भेटाउनु भयो भने इनामकै घोषणा गर्न सकिन्छ ।

 

व्यक्तिगत र राजनीतिक कुरा कोट्याउँदा मैले पनि मोटो मशाल, जनमोर्चा, एकता केन्द्र हुँदै करीब २५ बर्षजति माओवादीलाई विभिन्न प्रकारले¸ आवद्द भएर¸ नभएर विभिन्न सहयोग गरेँ । माओवादीका धेरै नेता चिन्छु । उहाँहरुको आनीवानी¸ सोँच विचार¸ व्यवहार¸ शैलीको बारेमा जानकारी नै छ । तर माओवादीलाई जति सहयोग गरेपनि माओवादी पक्षबाट अहिलेसम्म २ पटक मात्र सहयोग पाएको हुँ । असहयोग त कति पाइयो कति ! कुनै बेला एकल र प्राकृतिक ब्यक्ति बिनाराम खड्काको विरुद्धमा सिङ्गो माओवादी पार्टी संयन्त्र लाग्यो । त्यस घटनाबाट मलाई “माओवादी पार्टी” कतिसम्म चुथिया पार्टी रैछ राम्रैसंग जानकारी भयो । माओवादीबाट सहयोगको कुरा गर्दा एकपटक गणेशमान पुन र एकपटक गोपाल शर्मा अनलबाट सहयोग पाएको हुँ सम्झना ताजै छ । २५ बर्षसम्म विभिन्न रुपमा गरिएको सहयोगको बदला उताबाट पाएको जम्माजम्मी सहयोग यत्ती दुइपटक हो । त्रिवेणी गाउंपालिकाका प्रमुख झक्कुप्रसाद घर्तीले सकारात्मक सदाशयता राख्दै सरुवा सहमती दिनुभएको थियो । तर माथिकै टाउकेहरुले उक्त सहमती अनुसार समायोजन संशोधन या सरुवा गरेनन । सहयोगी व्यक्ति झक्कुप्रसाद घर्तीलाई पनि सम्झिरहन्छु ।

 

प्रसंग हो माओवादी आठौँ महाधिवेशन र केससको । पर्नैपर्ने नाम गोपाल शर्मा अनल र महेन्द्र केसी पर्नु भएनछ । रुकुम जिल्लामा त्यसको बारेमा तिव्र चासो प्रकट भइरहेको छ । उहाँहरु दुवैजनालाई अहिले टाढैबाट भएपनि राम्रोसंग चिन्छु । जिल्लाका चिरपरिचित हस्ती हुनुहुन्छ । महेन्द्र केसी पारसमणीसंग धेरै साथ भएको छैन । उहाँ दाङ्गतिर पढ्दा उहाँको नाम सुन्थ्यौँ उहिल्यै ५१।५२ सालतिर । मेरो उहाँका भाइसंग राम्रो साथ भएको छ । उहाँको भाइ र म एउटै कमिटीमा रहेर लामो समय काम गर्यौँ । पछि पारसमणी विप्लव माओवादी हुँदा उहाँले फोन गरी बोलाउनु भएपछि भेट भएको थियो । धेरै सरल व्यक्ति । पछि माओवादीतिरै फर्किनु भएछ । अति इमान्दार व्यक्ति । कहिलेकाही बाटोमा भेट हुन्थ्यो । बोलचाल भलाकुसारी हुन्थ्यो । आदरणीय व्यक्ति । सम्बन्ध यत्ती हो ।

 

गोपाल शर्मा अनलसंग उहिल्यैदेखि राम्रो चिनजान हो । राजनीतिमा पनि हामी संगसंगै जोडिएका थियौँ उहिले विद्यार्थीकालमा । उहाँ चौरजहारी एरियाको अध्यक्ष हुंदा म खलंगा एरियाको अध्यक्ष थिएँ । उहाँ देश निर्माणको क्षेत्र राजनीतिमा लाग्नु भो । म पेट पाल्ने पेशा जागिरीतिर लागेँ । पछि कर्मचारी संगठनमा हुंदा अनलसंग एकपटक साँगठानिक टक्कर पनि परेको हो । रुकुम जिल्लामा क्रियाशिल नेराकसका कुनै पनि काम केन्द्रमा नहुने भएपछि आधिकारीक ट्रेड युनियनको निर्वाचनमा नेराकसलाई असहयोग गर्ने घोषणा गरियो । उक्त बैठकमा रामसुर बुढा विरता (हाल भुमे गापा अध्यक्ष) हुनुहुन्थ्यो । तर पनि उक्त कुरा अनलको कानमा पर्ने नै भयो । अनि उहाँसंग पर्यो कटाङ्गकुटुङ्ग । यत्ति हो टाकानटुकुन परेको अरु सम्बन्ध राम्रै हो पहिला । तर उहाँ धेरै चलाख, कुटनीतिक, दिर्घकालीन सोँचकासाथ काम गर्ने र सहयोगी व्यक्ति हो । कहिलेकाहीँ आवश्यकताभन्दा बढी कुटनीति गरे पनि सबै कुरा विचार गर्ने र सबै क्षेत्र¸ पेशा¸ व्यवसायमा आवद्द साथीहरूको मनमनमा बस्न सक्ने नेता हो अनल । भावनात्मक रुपमा अति संवेदनशिल व्यक्ति । हाम्रो त ब्लड ग्रुप पनि एउटै हो । ओ पोजेटिभ । अरुलाई दिन मिल्ने आफुले अरुबाट लिन नमिल्ने । कसैलाई पनि पिर पारेर नबोल्ने व्यक्ति अनल । हामी सबैजसो बोल्दाखेरी अली यताउति विचार नपुर्याएर जिब्रामा जे आयो त्यही फ्याट्ट फ्याट्ट बोल्छौँ तर उहाँ मन्चमा या व्यक्तिगत रुपमा बोल्दाखेरी समेत अडकलेर¸ केही शब्द घाँटी भित्रै राखेर केही शब्द मात्र तौली तौली बाहिर निकाल्ने व्यक्ति हो । आन्तरिक योजना निर्माणमा पनि उहाँ धेरै माहिर र क्षमतावान नेता हो ।

 

अहिले मेरो लामो समयदेखि उहाँहरु दुवै जना पारसमणी र अनलसंग भेट भएको छैन । टेलिफोन या अन्य माध्यमले पनि सम्पर्क छैन । फेसबुकमा साथी छौँ । अरु माध्यमबाट कुनै पनि कुराकानी भएको छैन । तर उहाँहरुको टाढैबाट व्यक्तिगत र स्वतन्त्र मुल्याङ्कन गर्दा उहाँहरु दुवै जना माओवादी केससमा पर्नैपर्ने नाम हो । अरु नामहरु हेर्दा उहाँहरु छुट्नुपर्ने कुनै कारण र आधार देखिदैन ।

 

र केही मनोनित कोटामा मनोनित गर्न बाँकी रहेको देख्दा उहाँहरु अवश्यै पर्नुहुन्छ होला । तर अनल सर अली बढी सुझबुझकासाथ¸ आन्तरिक योजना बनाएर काम गर्ने नेता भएकोले उहाँहरुले आन्तरिक रुपमा केही समझदारी या योजना निर्माण गरेको पनि हुनसक्छ । जस्तो केससको मर्यादाक्रम माथि भएता पनि कार्यकारी र अधिकार क्षेत्रको हिसावले जिल्लाकै अध्यक्ष बढी महत्वपुर्ण हुन्छ । चुनावबाटै विभिन्न तहका सरकारमा जानुपर्ने अवस्थामा जनतासंग प्रत्यक्ष सम्बन्ध रहने तथा पार्टीका उम्मेदवार सिफारिस¸ छनौटदेखि लिएर अन्य जनसरोकारका विषयमा त जिल्ला पार्टीको भुमिका नै मुख्य र कार्यकारी हुने भयो । त्यस हिसावले जिल्ला पार्टीमै रहने विचार पनि उहाँको हुनसक्छ । त्यस्तै तत्काल स्थानीय तहको निर्वाचन आउंदैछ । स्थानीय तह विशेषगरी गाउंपालिका वा नगरपालिकाको प्रमुख भनेको शक्ति र सत्ताका हिसावले मन्त्री हुन हैसियत नहुने संघीय वा प्रदेश सांसदभन्दा कम छैन । उहाँहरुका स्थानीय तहतिर पनि केही आन्तरिक तयारी र योजनाहरु हुनसक्छन । राजनीतिलाई जनतासंगै डे टु डे जोड्नको लागि केसस भन्दा जिल्ला पार्टी वा स्थानीय तहको नेतृत्वतिर पनि उहाँहरुको केही सोँच भएर हो कि केससमा छुटेको ?

 

तर रुकुम जिल्लाका हामी नागरिकले चासो दिइरहेको एउटा पक्ष के हो भने माओवादी पार्टीमा जनार्दन शर्मा प्रभाकरको उत्ताराधिकारी रुकुम जिल्लामा को होला ? सबैको अनुमान के थियो भने पक्कै पनि गोपाल शर्मा अनलले त्यो भुमिका र अवसर प्राप्त गर्नुहुन्छ होला । जिल्ला पार्टीमा त उहाँको भुमिका अहम् र निर्णायक नै छ । रहन्छ होला शायद् । तर प्रभाकरले नै आफ्ना उत्तराधिकारीको रुपमा आन्तरिक रुपमा कसलाई अघि सार्लान ? सबैको चासो र जिज्ञासा यसमा देखिन्छ । नेपालको राजनीतिमा उत्तराधिकारी छनौट या निर्माण सकेसम्म नजिककैबाट तान्ने वा विकास हुने परम्परा उहिल्यैदेखिको हो । यसमा कुनै अन्यथा फरक टिप्पणी गर्नुपर्ने कारण छैन । परिवार वा नजिकका मानिसहरु राजनीतिको समान हैसियतमा भएको अवस्थामा स्वभावत उत्तराधिकारी पनि नजिक नजिक नै सर्ने सम्भावना बढी हुने भयो । विशेषत प्रभाकरका आफ्नै भाइहरु एकजना अरु क्षेत्रतिर क्रियाशील रहेको¸ अर्का भाइ पनि काठमान्डौँतिरै कार्यक्षेत्र रोजेको अवस्थामा पार्टीगत रुपमा र व्यक्तिगत रुपमा उहाँ पछि उहाँको उत्तराधिकारीको बारेमा रुकुमेलीहरुमा विभिन्न अनुमानहरु हुने गरेका छन् । सबै अनुमानलाई मिक्स गरेर फेरि थप अनुमानित विश्लेषण गर्दा केससमा मनोनयनको सिनारियोबाट केही फरक संकेतहरु देखिन्छन । हुनत् राजनीति सरल रेखामा हिड्दैन । तर पनि राजनीतिको रेखा संधैभरी बाङ्गोटिङ्गा मात्र पनि हुंदैनन । के के हुन्छ भएपछि मात्र थाहा होला । हामी राजनीतिभन्दा बाहिर रहेकाहरुले यो भन्दा बढी अनुमान टिप्पणी अहिले गर्न सक्दैनौ ।

 

रुकुमकै बासिन्दा¸ रुकुमकै मतदाता¸ रुकुमकै सरोकारमा जिज्ञासा राख्ने स्वतन्त्र नागरिकको रुपमा यत्ती शब्द लेखियो । कुनै गल्ती भए माफ पाउँ । सबैको जय होस । सबैको भलो होस । धनियापात् । नमस्कार ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार