निर्वाचन मितिबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

निर्वाचन मितिबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो ।

स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति जारी गर्दै उक्त मितिमा निर्वाचन गर्न तयार रहेको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नु सकरात्मक हुने उल्लेख गरिएको छ । आयोगले कोभिड-१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल गरेको छ ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन मिति आयोगसँगको परामर्शमा नै तोकिने जानकारी दिएको समेत विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवाले गृह मन्त्रालयलाई आवश्यक सुरक्षा व्यवस्थाको बन्दोबस्त गर्न पनि निर्देशन दिइसकेको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनबारे परामर्श गर्न आयोगका पदाधिकारी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीले अबको मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने छलफलका क्रममा बताएका थिए । आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतको उपस्थिति थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार