मालपोत कार्यालय रुकुममा टोकन प्रणाली मार्फत सेवा प्रदान

मालपोत कार्यालय रुकुममा टोकन प्रणाली मार्फत सेवा प्रदान

टोकन प्रणाली मार्फत सेवा प्रदान गर्दै एक कर्मचारी

मुसिकोट । मालपोत कार्यालय रुकुम पश्चिममा टोकन प्रणालीको सुरुवात गरिएको छ ।

मालपोत कार्यालयमा बिचौलियाको चलखेल रोक्न र पालो अनुसार सहज सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गरिएको कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीले बताउँनुभयो ।

यस अघि मालपोत कार्यालयमा सेवाग्राहिहरुले आफ्नो पालो अनुसार समयमै सेवा नपाएको गुनासो गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा समेत मालपोत कार्यालयमा भएको अव्यवस्थित सेवाबारे सेवाग्राहि तथा लेखापढी व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

गुनासोपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मालपोत कार्यालयमा टोकन प्रणाली सुरुवात गर्न निर्देशन दिनुभएको थियो । उहाँले सेवाग्राहिलाई समयमै, पालो अनुसार र सहज रुपमा सेवा प्रदान गर्न टोकन प्रणाली लागु गर्न निर्देशन दिए लगत्तै मालपोत कार्यालयले उक्त सेवाको सुरुवात गरेको जनाएको छ ।

टोकन प्रणाली अनुसार सुरुमा सेवाग्राहिले कार्यालय प्रमुख समक्ष निवेदन पेश गरेपछि प्रमुखले नम्बर र समय अंकित टोकन सेवाग्राहिलाई उपलब्ध गराउनुहुनेछ । त्यसपछि सोहि टोकन नम्वर अनुसार सम्बन्धित फाँटमा क्रमैसँग सेवाग्राहिले सेवा लिन सक्नेछन् । कार्यालय प्रमुख खत्रीका अनुसार सकभर टोकन उपलब्ध गराएकै दिनमा सेवा प्रदान गरिने छ । तर, सोहि दिन काम सम्पन्न नभएमा अघिल्लो दिनको टोकन नम्बर अनुसार काम हुनेछ ।

टोकनको नमुना

यसका साथै मालपोत कार्यालयमा पटक पटक बिद्युतको कारण सेवा अवरुद्ध हुने गरेकोले उक्त समस्या समाधानका लागि कार्यालयले सोलार सिस्टम जडान गरेर बैकल्पिक रुपमा बिद्युतको व्यवस्था गरेको जनाएको छ । अनलाईन मार्फत प्रवाह भएको सेवामा समेत बेला बेला समस्या आएकोले तत्काल बैकल्पिक रुपमा ईन्टरनेटको व्यबस्था गर्न लागिपरेको कार्यालय प्रमुख खत्रीले जानकारी दिनुभयो ।

प्रमुख खत्रिले दैनिक रुपमा २५ देखि ३० जना सेवाग्राहिले टोकन लिएर सेवा लिने गरेको बताउनुभयो । उक्त सेवा माघ ४ गतेदेखि सुरु गरिएको हो । सेवाग्राहिहरुले पनि टोकन प्रणाली लागु भएदेखि सेवा प्राप्तीमा सहजता भएको बताएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार