शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल हुन्छ : मन्त्री बडू

शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल हुन्छ : मन्त्री बडू

सरकारले फागुन ६ शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । आजको संसद् बैठकबाट बाहिरिने क्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकमा एमसीसी टेबल गरिने जानकारी दिएका हुन् ।

तर, गठबन्धनभित्रै एमसीसी टेबल गर्ने विषयमा भने सहमति जुटिसकेको छैन । विशेषगरेर सत्ताघटक दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा छन् ।

सरकारले बुधबारको बैठकमा परियोजना टेबल गर्ने भएपछि माओवादी विपक्षमा उभिएको थियो । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी टेबल भए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको थियो ।

बैठक सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुबाटारमा वार्ता भएको थियो । त्यसपछि  एमसीसी आजको बैठकमा टेबल नगर्ने निर्णय भएको थियो ।

कानुन मन्त्री बडूकाअनुसार २ दिन सहमतिको प्रयास गर्ने र आउँदो बैठमा टेबल गर्ने सहमति भएको छ ।

“दुई दिन समय बाँकी छ । सहमतिका लागि हामीले प्रयास गर्ने भएका छौँ । ६ गते सहमतिमै पेस गर्ने हाम्रो तयारी छ,” उनले भने ।

सहमति नभए के हुन्छ त भन्ने प्रश्नमा मन्त्री बडूले नकारात्मक कुरा गर्न अहिले जरुरी नभएको बताए ।

“सहमतिमै पेस गर्छौं भन्ने छ अरू नकारात्मक कुरा नगरौँ । तर. ६ गते टेबल हुन्छ । भएन भने के हुन्छ भनेर प्रश्न अहिले नगरौँ,” उनले भने ।

बुधबार बसेको संसद् बैठकमा एमसीसी टेबल गर्ने निर्णयबाट अन्तिम समयमा सरकार पछि हटेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार