डाक्टर कुटने डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो

डाक्टर कुटने डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो

वैशाख ४ काठमाडौं

महाराजगंजमा डाक्टरलाई कुटपिट भएपछि महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीले एक विज्ञाप्ति जारी गर्दै डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी झिकाइएको जानकारी दिनुभएको छ ।

बुधबार साँझ ड्युटी सकेर घर फर्केने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भू खनाल, तेजप्रकाश साह र विकास साहलाई लकडाउन उल्लंघन गरेको भन्दै डिएसपी लम्सालसहितको प्रहरी टोलीले कुटपिट गरेको थियो । सोही विषयमा थप अनुसन्धानको लागि भन्दै डिएसपी लम्साललाई रानीपोखरी तानिएका हुन् ।

महानगरीय प्रहरी प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘उक्त घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख प्र,ना,उ. उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई यस कार्यालय झिकाइएको साथै उक्त घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई यस कार्यालयमा झिकाई आवश्यक छानबिन कार्य भइरहेको व्यहोरा समेत जानकारी गराइन्छ ।’

एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

उक्त प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार