माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ। एमाले र कांग्रेसले माओवादी संख्यात्मक रूपमा उस्तैउस्तै भए पनि मतान्तर र मत भारका हिसाबले पछाडि रहेको दावी गर्छन्।

एक नगरपालिका सहित माओवादीले ६ गाउँपालिका प्रमुख जितेको छ। २०७४ सालको निर्वाचनमा ७ पालिका जितेका माओवादीले यो पटक पनि ७ पालिका जितेको छ। अघिल्लो चुनावमा एउटा गाउँपालिका प्रमुख जितेको काँग्रेसले २ गाउँपालिका प्रमुख जितेको छ भने पहिलो निर्वाचनमा २ गाउँपालिका प्रमुख जितेको एमालेले यो पटक एउटा गाउँपालिका प्रमुख मात्र जितेको छ।

रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, माडी, लुङग्री, सुनिलस्मृति र सुनछहरी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष माओवादीले जितेको छ भने रुन्टीगढी र गंगादेव गाउँपालिका अध्यक्ष/उपाध्यक्ष काँग्रेसले जितेको छ। त्रिवेणी गाउँपालिकामा अध्यक्ष एमाले र उपाध्यक्ष काँग्रेसले जितेको छ।

त्यस्तै ७ उपप्रमुख माओवादीले जितेको छ भने काँग्रेसले ३ वटा उपप्रमुखमा जित हासिल गरेको छ। एमालेले एउटा पनि उपप्रमुख जित्न सकेन। जम्मा ७२ वडा रहेको रोल्पामा सबैभन्दा धेरै ४८ वटा वडामा माओवादी निर्वचित भएको छ। दोस्रोमा कांग्रेसले १४ वडा जित हासिल गरेको छ भने एमालेले ८ वटा वडा जितेको छ। समाजवादी र स्वतन्त्रले १/१ वटा वडा जितेका छन्।

रोल्पामा २०७४ को निर्वाचनमा माओवादीले ४७ वडा जितेको थियो भने कांग्रेसले १२, एमालेले ११ र स्वतन्त्रले २ वटा वडा जितेका थिए। यो पटक माओवादीले १ वडा थपेको छ भने काँग्रेसले एक गाउँपालिका र २ वडा थपेको छ। एमालेले एउटा गाउँपालिका र ३ वटा वडा घटाएको छ।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रका सुरेन्द्र थापाघर्ती प्रमुखमा विजयी भएका छन्। घर्तीले ७ हजार ६ सय ३० ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याए। परिवर्तन गाउँपालिकामा शुकबहादुर बुढामगरले ३ हजार ३ सय ११ मत प्राप्त गरी अध्यक्षमा विजयी यहाँ काँग्रेस, एमाले, समाजवादी र विप्लव नेतृत्वको नेकपा गठबन्धन र माओवादी एक्लै रहेर चुनावी प्रतिस्पर्धा भएको थियो।

लुंग्री गाउँपालिकामा भरतकुमार थापा ४ हजार ९ सय ६४ मत लिइ अध्यक्षमा निर्वाचित भए। सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर पुनमगर ३ हजार ४ सय ३९ मत लिइ अध्यक्षमा निर्वाचित भए। माडी गाउँपालिकामा अमरसिंह घर्ती ३ हजार ८ सय ३० मत सहित विजयी भए।

थवाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर २ हजार १ सय २२ मत लिई विजयी भए। उनका प्रतिद्वन्द्वी दर्जित रोकामगरले १ हजार ५ सय ६ मत ल्याए। यहाँ पनि माओवादीसँग विप्लव, काँग्रेस र एमालेको गठबन्धन थियो। सुनिलस्मृति गाउँपालिकामा मणिराम बुढाथोकी ६ हजार ६२ मत लिइ विजयी भए।

माओवादीले अघिल्लो स्थानिय तह निर्वाचनमा जितेको गंगादेव गाउँपालिका गुमाए पनि लुंग्री गाउँपालिकामा जितेको छ। गंगादेव गाउँपालिकामा काँग्रेसका हरिबहादुर पुनमगर अध्यक्षमा २ हजार ५ सय ५७ मत लिइ विजयी भए। रुन्टीगढी गाउँपालिकामा काँग्रेसका अध्यक्ष उम्मेदवार जनक पुनले ४ हजार ३ सय ९१ मत लिइ विजयी भए।

त्रिवेणी गाउँपाकिाको अध्यक्षमा कणर्बहादुर बाँठामगर ५ हजार ८५ मत लिई विजयी भए। यहाँ काँग्रेस र एमालेले गठबन्धन गरेका थिए। रोल्पामा माओवादी केन्द्र र समाजवादीले केही पालिकामा गठबन्धन गरेका थिए भने केही पालिकामा एमाले, कांग्रेस, विप्लव नेतृत्वको नेकपाबीच गठबन्ध भएको थियो।

रुकुम पश्चिम

माओवादी विरासत रोल्पामा जोगिए पनि रुकुम पश्चिममा भने भत्किएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा क्लीन स्वीप बनाएको माओवादीले रुकुम पश्चिममा यतिबेला घाटा व्यहोरेको हो। माओवादीको गढ मानिएको रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकामा माओवादीले मेयर उपमेयर सहित ६ वटा वडा गुमाएको छ। कडा प्रतिस्पर्धा रहेको यहाँको चुनावमा मेयरमा कांग्रेसका महेन्द्र केसी र उपमेयरमा समाजवादीका बिमलकुमार पुनले जित हासिल गरेका हुन्।

बाँफिकोट गाउँपालिकामा नेपाली काँग्रेसका जनककुमार बाँठामगर विजयी भएका छन्। बाँठाले ४ हजार ४ सय ५५ मत ल्याएर विजयी भएका हुन्। चौरजहारी, आठबिसकोट नगरपालिका र त्रिवेणी, सानोभेरी गाउँपालिकामा माओवादीले जित हासिल गरे पनि वडा भने घटाएको छ।

अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा लामो समय जिल्लामा बसेर चुनावी दौडधूप गरे पनि उनको मेहनत खेर गएको रुकुमको निर्वाचनलाई नजिकबाट हेर्नेहरू बताउँछन्। स्थानीयका अनुसार तीव्र चुनावी प्रतिस्पर्धात भएका कारण निर्वाचनअघि रुकुममा दैनिक झडप हुने गरेको थियो। रुकुममा अघिल्लो निर्वाचनभन्दा माओवादीको मतभार निकै घटेको छ।

रुकुम पूर्व

पूर्वी रुकुममा पनि माओवादीले आफ्नो केही खस्काएको छ। तिन स्थानीय तह रहेको यहाँका सबै पालिका प्रमुखमा उसले जित हात पारेको हो। पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीका अध्यक्ष पुनीराज घर्ती ३ हजार ९ सय १३ विजयी भएका छन्।

भूमे गाउँपालिकाको अध्यक्षमा माओवादीका होमप्रकाश श्रेष्ठ ३ हजार ९ सय ७५ मत सहित विजयी भए। सिस्ने गाउँपालिका भने माओवादीले गुमाएको छ। सिस्ने गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका गोपाल रेउले विजयी भएका हुन्। रेउलेले ३ हजार ७ सय ६१ मत ल्याएका छन्।

रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा माओवादीका कृष्ण रेग्मी विजयी भएका छन्। रेग्मीले ३ हजार ७ सय ७९ मत ल्याई ल्याएर जित हासिल गरेका हुन्।

पूर्वी रुकुमका ३१ वटा वडामध्ये २२ वडा माओवादीले जितेको छ भने एमालेले ६ वटा वडामा जित हासिल गरेको छ। त्यस्तै काँग्रेसले ३ वटा वडामा चित्त बुझाएको छ। यो पटक माओवादीले पूर्वी रुकुममा वडा पनि घटाएको छ। यहाँ पनि माओवादीको मतभार घटेको छ। नागरिक दैनिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार