छ महिनासम्म पनि मजदुरले ज्याला पाएनन्

छ महिनासम्म पनि मजदुरले ज्याला पाएनन्

फाईल तस्बीर

मुसीकोट । रुकुम पश्चिमका सडक निर्माण मजदुरले छ महिनासम्म पनि ज्याला पाएका छैनन् । सडक निर्माणमा संलग्न ४० जना मजदुरले छ महिनासम्म ठेकेदारबाट ज्याला नपाएको गुनासो गरेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ४ , मन्कोटदेखि वडा नम्बर ५ को खहरेसम्म निर्माण गरिएको सडक खण्डमा ग्राभेल र नाला निर्माणका लागि काम गरेका मजदुरले ज्याला नपाएका हुन् ।

सडक निर्माणका लागि काम गरेका करिब ४० जना मजदुरले काम गरेको छ महिना बितिसक्दा पनि रकम नपाएको चौरजहारी नगरपालिका वडा नम्बर ४ का अतिराम रोकायाले जानकारी दिनुभयौ । उहाँका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर ४ , मन्कोट गाउका २० जना र वडा नम्बर ७ नाजीका २० जना कामदारले ज्याला पाएका छैनन् । सबै जनाको गरेर करिब १० लाख रकम पाउन बाँकी रहेको रोकायाले बताउनुभयो ।

पुस ९ गतेदेखि माघ १७ गतेसम्म आफूले नाला निर्माणका लागि काम गरेको र हालसम्म ज्याला नपाएको उहाँले गुनासो गर्नुभयो । पटक- पटक ज्यालाका लागि ताकेता गर्दा आफूलाई स्थानीय ठेकेदारले पैसा नभएको खाली चेक थमाइदिएर सम्पर्कविहीन भएको रोकायाले बताउनुभयो ।

चौरजहारी नयाँ सहर आयोजनाअन्तर्गतको उक्त सडकको काम द क्याराभान कन्स्ट्रक्सन प्रालिले पाएको थियो । उक्त कन्स्ट्रक्सनबाट मन्कोट खहरे सडकखण्डमा ग्रामेल र नाला निर्माणको जिम्मा पेटी ठेक्का गर्ने चौरजहारी नगरपालिका वडा नम्बर ५ का ठेकेदार नारायण बुढाले लिनुभएको थियो । पेटी ठेकेदार बुढाले मजदुरलाई ज्याला नदिएको गुनासो रहेको छ । ज्याला माग गर्ने केही मजदुरलाई पैसाबिनाको चेक दिएर ठेकेदार बुढा सम्पर्कबाहिर भएको श्रमिकले जनाएका छन् ।

चौरजहारी नयाँ सहर आयोजनाले भने उक्त कामबापतको रकम सम्बन्धित मुख्य ठेकेदारलाई भुक्तानी भइसकेको जनाएको छ । भ्याटबाहेक ३५ करोड रुपियाँमा चौरजहारीमा कालोपत्रे र मन्कोट खहरे सडकखण्ड ग्रामेल र नाला निर्माण गर्ने सम्झौता भएको थियो । कालोपत्रेको काम यस वर्षं हुने तर मन्कोट खहरे सडकखण्डको काम सकिएकाले मुक्तानी भइसकेको आयोजना कार्यालयका सूचना अधिकारी खिमप्रकाश चन्दले बताउनुभयो ।

सडकखण्डमा काम गरेका कामदारहरूले पैसा नभएको चेक दिएर झुक्याएको बताएका छन् । बैङ्कमा पैसा निकाल्न जाँदा खातामा पैसा नै नभएकाले कानुनी प्रक्रियाअनुसार अदालत जाने मजदुरहरूको तयारी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार