रुकुमका कांग्रेस माथि यो कस्तो बाध्यता !

रुकुमका कांग्रेस माथि यो कस्तो बाध्यता !

बुधबार निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवार फिर्ता लिने दिन । दिनभर कार्यब्यवस्थताका कारण सामाजिक सञ्जालको प्रयोग कमै गरे । जव साँझ कार्यस्थलबाट निवास फर्किए र सामाजिक सञ्जाल सरसर्ती हेरे । मेरो नजर पर्यो रुकुमपश्चिमका नेपाली कांग्रेसका कार्यकर्ताको आक्रोशसहितका स्टाट्समा । अलिकति बोल्न सक्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने कांग्रेसप्रेमीले स्टाट्सबाटै आफनो भावना पोखेर केही हल्का महसुस गरे होलान । तर, पुराना द्धन्दको समयमा कांग्रेसको झण्डा बोक्नेहरुले, आफना अभिभावक गुमाएकाहरुले आफ्नो भावना कसरी पोख्ने होलान ? र ती शब्द कसले सुनिदिने होला ? धेरैका अनेक बिचार बाहिर आएका छन् । नेताहरुमाथि पोखेको धेरै आक्रोश देखे । अनि मलाई पनि केही लेख्नै मन लाग्यो र कम्युटरको अघि बसे ।

मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा रुकुमपश्चिममा आइतबार कांग्रेसी नेताहरुले मनोनयन दर्ता गराउन हानथाप नै गरे । पार्टीबाट टिकट पाएको भन्दै उम्मेद्वारी दर्ता गराउने जिल्लामा पुगेर मात्रै होइन जिल्ला नपुगेका काठमाडौंमै रहेकाले समेत स्वतन्त्रको नाममा वारेस नामा दिएर उम्मेद्वार दर्ता गराए । यो हानथापले नै रुकुमपश्चिममा कांग्रेस पार्टी कसरी चलिरहेको छ भन्ने प्रष्टै देखिन्थ्यो । कांग्रेसको जिल्ला अधिबेशनबाटै सुरु भएको भाडभैलो र मनमुटाप अझै नसकिएको लुकाएर लुक्दैन । पार्टीभित्रै एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्ने अवस्था बन्दा रुकुमपश्चिमको कांग्रेसले अहिलेसम्मकै ठूलो क्षति बेहोरेको छ ।

रुकुममा तत्कालिन माओवादीले कांग्रेस भएकै कारण गरेको ज्यादतीमा पनि पार्टी जोगाएका कार्यकर्तालाई लागेको थियो कांग्रेसबाट उम्मेद्वार भएका नेताहरुबीच छलफल चल्नेछ, चुनावमा एकढिक्का भएर मैदानमा उत्रिनेछन् । तर, उनीहरुको त्यो चाहनालाई लत्याउदै रुकुमका कांग्रेसी उम्मेद्वारले धोका दिए । केन्द्रीय पार्टी निर्देशन भन्दै जसरी उम्मेद्वार दर्ता गर्न हानथाप गरेका थिए । उसैगरी कारवाहीमा पर्ने डरले उम्मेद्वारी फिर्ता लिएर गोल गर्न नेकपा माओवादी केन्द्रका लागि सहज बनाइदिए । यो निर्णयले माओवादीका नेता, कार्यकर्ता खुसीले गदगद हुँदा कांग्रेसका कार्यकर्ता, शुभचिन्तकको आक्रोश सामाजिक सञ्जालमा छरपस्ट छ । कतिपयले कपाल मुन्डन नै गरेका तस्वीर सार्वजनिक भएका छन् । यी आक्रोश स्वभाविक पनि छन् ।

प्रतिनिधिसभामा उम्मेद्वार छैन । प्रदेशसभामा उम्मेद्वार छैन् । प्रतिनिधिसभाको समानुपातिकमा पनि पार्टीको उम्मेद्वार छैन । कांग्रेसीले भोट कुन चुनाव चिन्हमा हाल्ने ?

अव रुकुमपश्चिमका कांग्रेसी नेतृत्वले जवाफ दिनुपर्यो ? मंसिर ४ मा मतदान कुन चुनाव चिन्हमा गर्ने ? कांग्रेस कार्यकर्तालाई यहि जवाफ चाहिएको छ ? प्रतिनिधिसभामा उम्मेद्वार छैन । प्रदेशसभामा उम्मेद्वार छैन् । प्रतिनिधिसभाको समानुपातिकमा पनि पार्टीको उम्मेद्वार छैन । कांग्रेसीले भोट कुन चुनाव चिन्हमा हाल्ने ? रुकुमका कांग्रेसले खोजेको यसको उत्तर कसले दिने ? केन्द्रीय सदस्य मानबहादुर नेपाली, कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, सभापति प्रेमप्रकाश ओली या पूर्वराज्यमन्त्री गोपालजीजंग शाहले ? केन्द्रले टिकट दियो भन्दै पार्टीका तर्फबाट उम्मेदवार दर्ता गराउनेलाई अन्तिम समयमा किन पार्टीले नै फिर्ता लेउ भन्यो ? कसको दवावले काम गर्यो ? चुनावी तालमेल एउटाको अस्तित्व नै मेटाउने गरी हुनसक्छ ? आफ्नो प्रतिष्पर्धी दललाई एउटा पनि सिट नदिएर गरिएको चुनावी तालमेलको अर्थ के ? यस्तो निर्णयमा एक्यबद्धता जनाउने नेताहरुले कार्यकर्ताले खोजेको जवाफ कहिले दिने ?

निर्वाचनको तयारी गर्न छाडेर माओवादीले एक सिट भएपनि दिन्छ कि भन्दै बालुवाटार धाउनु दुर्भाग्य ।

माओवादीको एकछत्र राजमा दविएको रुकुमको कांग्रेसले २३ बर्षपछि काँचुली फेर्न सुरु गरेको थियो । रुकुममा माओवादीको विगविगी हुँदा समेत जनार्दन शर्मासँग चुनाव लड्न नडराएका गोपालजिजंग शाह लगायतका नेता अहिले किन डराए यहि प्रश्नको उत्तर कांग्रेसका कार्यकर्ता र शुभचिन्तकले पाउनुपर्छ ? केन्द्रको निर्देशन अनुसार उम्मेद्वार फिर्ता लिए भन्दै सामाजिक सञ्जालमा लेखेरै उन्मुक्ति पाइनेवाला छैन । निर्वाचनको तयारी गर्न छाडेर माओवादीले एक सिट भएपनि दिन्छ कि भन्दै बालुवाटार धाउनु, गठबन्धनमा रुकुमपश्चिमलाई कुनै न कुनै स्थान दिनुपर्छ भन्ने आँट गर्न नेतारुले किन गर्न सकेनन् ।

केन्द्रीय तहको राजनीति गर्न पुगेका केन्द्रीय सदस्य मानवहादुर नेपालीले नेतृत्वलाई किन घच्घच्याउन सकेनन् । प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले प्रदेशको भागबण्डामा आफ्नो जिल्ला किन सुम्पिए । जिल्ला सभापति प्रेमप्रकाश ओलीले जिल्लाको बस्तुगत अवस्था कांग्रेस नेतृत्वलाई किन बुझाउन सकेनन् भन्ने प्रश्न आम रुकुमका कांग्रेसीको हो । यहाँ जोडबलले भन्नैपर्छ आफू भए ठिक नभए अरु कोही पनि हुनुहुदैन भन्ने नेताहरुको चाहनाले नै रुकुमपश्चिम उम्मेदवार विहिन भएको हो ।

रुकुम माओवादीले जे चाहेको थियो त्यहि भयो
अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चाहेका थिए रुकुमपश्चिममा कांग्रेसलाई तालमेलका क्रममा एक सिट पनि दिनुहुदैन । आखिर त्यहि भयो । मुख्य प्रतिष्पर्धी दल नै मैदानबाट आउट भए जीत सुनिश्चित । त्यहि मात्रै होइन स्थानीय तह र पत्रकार महासंघको चुनावमा रुकुमको माओवादीलाई लागेको झट्काको बदला लिनु । त्यसैले त काठमाडौंमा गठबन्धनको छलफल जारी रहँदा माओवादीका जिल्ला नेतृत्वले नै बारम्बार सामाजिक सञ्जालमा लेख्दैथिए रुकुममा कांग्रेसलाई एक सिट पनि दिइदैन ।

के अव गठबन्धनभित्रको दल भनेर माओवादीले जेके बाँठा र महेन्द्र केसीलाई काम गर्ने वातावरण बनाइदिन्छ ?

स्थानीय तहको निर्वाचनमा बाँफिकोट गाउँपालिकामा जेके बाँठाले देखाएको चमत्कार र मुसिकोट नगरपालिकामा अनेक जालझेल गर्दा समेत महेन्द्र केसीको जीतलाई माओवादीले अहिले पनि सहज रुपमा लिएको छैन । त्यसैले त मुसिकोटमा मेयर केसीलाई बारम्बार काम गर्न नदिने धम्की, घुर्की लगाउने काम माओवादीबाट भइरहेको छ । के अव गठबन्धनभित्रको दल भनेर माओवादीले जेके बाँठा र महेन्द्र केसीलाई काम गर्ने वातावरण बनाइदिन्छ ?

स्थानीय तहमा दुई पालिका गुमाउदाको छटपटीका कारण माओवादी जसरी भएपनि गठबन्धन गर्नुपर्ने तर, कांग्रेसलाई थाङ्नामै सुताउने खेल सुरुदेखि नै चलाएको थियो । त्यो खेल नबुझनु नै कांग्रेसका नेताको कमजोरी हो । आफनो प्रतिष्पर्धी हराउन वा मैदानमा नल्याउन माओवादीले आफ्नो प्रयास जारी राख्ने नै भयो । तर, त्यो कुरा बुझ्न र सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता डाक्टर शेखर कोइरालालाई बुझाउने गतिलोे नेता रुकुमले पाएन । जनयुद्धको उद्मथलो रुकुम । माओवादी बाहेक अरु दल नै छैनन् भन्ने माओवादीको अहमता स्थानीय तहको चुनावले तोडेको थियो ।

अव भोट के मा ?
रुकुमपश्चिमका नेकपा माओवादीका नेताहरुले कांग्रेसको उम्मेदवार फिर्ता भएपछि गठबन्धनको सहमति कार्यान्वयन गरेको भन्दै धन्यबाद र बधाई दिइरहेका छन् । विगतको मुख्य प्रतिष्पर्धी दल कांग्रेस आफै पाखा लागेपछि माओवादी सहज जित्नेमा ढुक्क छ । सहमति कार्यान्वयन भनेपछि कांग्रेसका नेता कार्यकर्ताले हसियाँ हतौडामा भोट हाल्छन् भन्नेमा माओवादीको कुनै शंका छैन । तर, उम्मेदवार फिर्ता लिएका नेताहरुले खुलेर माओवादीलाई समर्थन गरेका छैनन् । सामाजिक सञ्जालमा देखिएको आक्रोशले कार्यकर्ताको भोट माओवादीलाई जाने सम्भावना पनि न्युन छ ।

रुकुमको माओवादीलाई रुखमा भोट हाल्न आपत्ति हुँदा कांग्रेसले किन भोट हाल्ने भन्ने भनाई उनीहरुको छ । कांग्रेसको उम्मेदवार नभएपनि जिल्लादेखि केन्द्रसम्म नेपाल विद्यार्थी संघको राजनीति गरेका तारक केसी स्वतन्त्र भएर चुनावी मैदानमा उत्रिएका छन् । केसी कांग्रेसले मैदान खाली गरेपछि भोट आफूतिर आउनेमा ढुक्क छन् । एमाले पनि कांग्रेसको भोट बाँढिएर आफूतिर आउनेमा ढुक्क जस्तै छ । जिल्लाको कांग्रेस बचाउने हो र भोली पनि राजनीति गर्ने हो भने नेताहरुको बेलैमा सद्बुद्धि आओस् छिन्नभिन्न र गुट उपगुटले थलिएको कांग्रेस बचाउन ढिला नगरौं । नेता मिलौं, कार्यकर्ता सम्झाउ । चुनावमा भोट कसलाई एउटा निर्णय चाँडै सार्वजनिक गरौं ।     लेखक शर्मा पत्रकार हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार