लक्षण नदेखिएका १५ जनामा कोरोना संक्रमण

लक्षण नदेखिएका १५ जनामा कोरोना संक्रमण

बैशाख २१ बाँके
नेपालगञ्‍जमा आज थप छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको पीसीआर यन्त्रमा परीक्षणको क्रममा साँझ थप ६ जनामा कोरोना पोजेटिभ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि आज नै अपराह्न ९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । भेरीको कोरोना प्रयोगशालामा निरन्तर परीक्षण भइरहेको छ । शनिबार सङ्कलित ९० र आइतबार सङ्कलित चार गरी ९४ स्वाबको परीक्षण भइरहेको श्रेष्ठले बताए । ‘अहिलेसम्म कति परीक्षण भयो भन्ने ठ्याक्कै यकिन भएन, अहिलेसम्म थप ६ जनामा पोजेटिभ भेटिएको छ’,जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ भने,‘ निरन्तर परीक्षण भइरहेको छ, मन्त्रालयले पुष्टि गर्दै जाने छ । ’

उनका अनुसार अहिले भेटिएका नयाँ सङ्क्रमित पनि नेपालगञ्‍ज- ८ स्थित जोल्हनपूर्वा भएको बताइएको छ । यससँगै नेपालगञ्‍जमा एकै दिन कोरोना पोजेटिभको सङ्ख्या १५ पुगेको छ । यसअघि एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

संसर्गबाट कोरोना सङ्क्रमण

नेपालगन्‍जमा आइतबार फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगन्‍ज–८ डीएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउनेक्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । फेला परेका सङ्क्रमित सातदेखि ५८ वर्ष उमेरका छन् । उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण भएको थियो ।

फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित आइसोलेशन अस्पतालमा पठाइएको छ । नब्बेमध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।

कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगन्‍जका प्रमुख डा प्रकाश थापाले बताए । उनले कोरोना भाइरस जोसुकैमा पनि सङ्क्रमण हुने भएकाले घरबाट बाहिर निस्कन नहुनेमा जोड दिए ।

नेपालगन्‍जस्थितस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार