अलैँचीको विकल्प खोज्दै किसान

अलैँचीको विकल्प खोज्दै किसान

इलाम, १८ असोज (रासस) ः ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् ।

केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो करेसाबारीसमेत खाली नराखी किसानले अलैँैचीखेती गरेका थिए ।

पर्याप्त आम्दानी लिइरहेका बेला रोग देखिएपछि अलैँचीको विकल्प खोज्नु परेको माइजोगमाई गाउँपालिका प्याङका दीपक नेपाल बताउनुहुन्छ । “अलैँचीको फूलमा मकैको घोगाजस्तो देखिने समस्या आएको छ । अलैँचीमा दाना लाग्नुपर्नेमा कुहिन थालेको छ ।”

गत वर्ष दुई मन (एक मनको ४० किलो) उत्पादन भएको अलैँची यस वर्ष त्यही दरमा मात्र उत्पादन हुने देखिएको नेपाल बताउनुहुन्छ । “त्यही दरमा उत्पादन बढेको भए यस वर्ष चार मन उत्पादन हुन्थ्यो,” उहाँले भन्नुभयो ।

सन्दकपुर गाउँपालिका सुलुबुङका किसान नेत्र रिजाल पनि जुर्जरे र डढुवा रोगको सङ्क्रमणले अलैँची मासिँदै गएको बताउनुहुन्छ । तीन रोपनी जग्गामा गत वर्ष ६ मन उत्पादन भएको अलैँची यस वर्ष डेढ मनमात्र उत्पादन भएको उहाँको भनाइ छ ।

जिल्लाका सबै क्षेत्रमा अलैँचीमा रोग देखा परेको छ । कतिपय ठाउँमा पुरानै जुर्जुरे, स्याङ्लेजस्ता रोगले अलैँची मासिँदै छ भने केही ठाउँमा अलैँचीको गानो कुहिने समस्या छ ।

अलैँची रोपाइँमा नै समस्या भएकाले पर्याप्त उत्पादन दिन नसकेको र कम समयमै मासिने गरेको कृषिविज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय बारीमा अलैँची लगाउने गरेको र पानी बढी हुने हुनाले अलैँची मासिने गरेको छ । “अलैँचीलाई सुख्खा बारी आवश्यक हुन्छ, बारीमा पानी बढी भएकाले अहिले रोग लागेको हो,” श्रेष्ठले भन्नुभयो, “अहिले गानो कुहिने समस्या देखिएको छ ।”

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो स्थानमा छ । नेपालबाट वर्षेनी रु साढे चार अर्बको अलैँची निर्यात भइरहेको तथ्याङ्क छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी हुँदा रु चार अर्ब ५० करोड ६३ लाख आम्दानी भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार