कोरोना संक्रमित बढेपछि बाँके कारागारमा उच्च सतर्कता

कोरोना संक्रमित बढेपछि बाँके कारागारमा उच्च सतर्कता

बैशाख २६ बाँके

नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि बाँके जिल्ला कारागारले उच्च सतर्कता अपनाएको छ ।

सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरी कारागारमा अत्यावश्यकीय कामबाहेक अन्य व्यक्तिको सम्पर्कमा रोक लगाइएको कारागारका प्रमुख देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय जना क्षमता रहेको कारागारमा अहिले ८०५  छन् । उनीहरुलाई मास्क, स्यानिटाइजर जस्ता सामग्रीका साथै हात धुनका लागि पर्याप्त मात्रामा साबुनपानीको व्यवस्था गरिएको छ ।

कारागारमा रहेका दीर्घरोगीलाई भेरी अस्पताल र शिक्षण अस्पतालमा नियमित उपचारको व्यवस्था गरिएको छ ।  नेपालगञ्जमा साविकको मध्य तथा सुदूरपश्चिमका २५ जिल्लाका कैदीबन्दी आउने गरेका छन् । खासगरी अस्वस्थ कैदीबन्दीलाई उपचारको सुविधाका लागि बाँके जिल्ला कारागारमा ल्याइने गरिएको कारागार प्रमुख श्रेष्ठको भनाइ छ ।

कारागारमा अहिले पनि ८० वर्षसम्मका दीर्घरोग भएका  कैदीबन्दी छन् । अस्वस्थ भई भेरी अस्पतालमा एक हप्तादेखि उपचाररत नेपालगञ्ज ४ का सीताराम वैश्यको बिहीबार निधन भएको छ । मधुमेह र उच्च रक्तचापका रोगी वैश्यलाई कमलपित्त  देखिएपछि उपचारार्थ भर्ना भएकै बेला निधन भएको कारागार प्रमुख श्रेष्ठले जानकारी दिए ।

कारागार प्रमुख श्रेष्ठका अनुसार गनापुरमा आठ बिघा क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी  छ । नौबस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ ।   रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार