रुकुम घटनाले फेरी एकपटक प्रहरीमाथि उठाएको प्रश्न

रुकुम घटनाले फेरी एकपटक प्रहरीमाथि उठाएको प्रश्न

शिवहरि घिमिरे , जेठ २३ काठमाडौ
विवाद मिलाउन जेठ १५ गते नेपाली काङ्ग्रेस, लमजुङका पूर्व जिल्ला सभापति शंकरकान्त जोशीमाथि केही व्यक्तिहरुले हातपात गरे। उनलाई प्रहरी परिसरभित्रै केही व्यक्तिहरुले कुटपीट गरिरहँदा प्रहरी मूकदर्शक बनेको थियो। उनीमाथि विजय श्रेष्ठले हातपात गरेका थिए। तर, प्रहरीको सामुन्ने एकले अर्कोलाई हातपात गर्दा प्रहरी रमिते बनेको थियो। आफू कुटिएको बेला प्रहरीले सुरक्षा नदिएको भन्दै उनले प्रहरीमाथि कारबाही माग गरेका छन्।

– कैलालीको घोडाघोडी नगरपालिका– ५, देउकलियामा २०७४ फागुनमा स्थानीय राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपीट भयो। नजिकै घोडाघोडी प्रहरी चौकी थियो। घट्नास्थल पुगेको प्रहरीले बोक्सीको आरोपमा गाउँलेहरुले राधालाई लछारपछार गर्दा चाल नपाएजस्तै गरेको थियो। गाउँलेहरु नै ओइरिएको देखेपछि घटनास्थलको सामुन्ने भएको प्रहरी भागेको थियो। करिब २० मिनेटको पैदल दुरीमा रहेको भोलेबाबाको घरमा राधालाई घिसार्दै पुर्याएपछि प्रहरी पुग्दा प्रहरीको यत्रतत्र विरोध भएको थियो।

– २०७६ भदौमा नेपाली काङ्ग्रेस बाँकेको जिल्ला सभापति किरण कोइराला कुटिए। राजनीतिक विषयलाई लिएर विपक्षी दलका कार्यकर्ताले कुटपिट गर्दा प्रहरी भने मूकदर्शक बनेको थियो। आफू कुटिएको भन्दै नेका सांसद डा. अमरेश कुमार सिंहले प्रहरीमाथि आक्रोश पोखेका थिए। उनले त्यतिबेला प्रहरीको भूमिकाबारे संसदमा प्रश्न उठाएका थिए।

– जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा घटना भइरहँदा चौरजहारी प्रहरी कार्यालयले करिब ३० मिनेटपछि खबर पायो। प्रहरी निरीक्षक सन्तोष लामिछानेसहित पाँचजनाको टोली घटनास्थल पुग्यो। जाजरकोटतर्फबाट पनि दुई जना प्रहरी घट्नास्थलमा पुगेका थिए। तर, प्रहरीले घटना भइरहँदा परैबाट नियालिरहेको र घटना साम्य पार्न नसक्दा ६ जनाको ज्यान गएको भन्दै प्रहरीको सर्वत्र निन्दा भइरहेको छ।

‘त्यति लामो समय घटना चलिरहँदा प्रहरी प्रशासन किन पुग्न सकेन ? गएको भए पनि किन सिटी मात्रै फुक्यो ? कित प्रहरी दबाब, प्रभाव र डरमा पर्यो ?’

पीडितको सबैभन्दा नजिकको सारथी प्रहरीले घटनास्थलमा पुगेर आफ्नो पेशागत धर्म बिर्सिएका केही उदाहरण हुन् यी। घट्ना भइरहेको वा भइसकेको स्थानमा पुगेर तत्काल समाधान र अनुसन्धान अघि बढाउनु प्रहरीको कतव्र्य नै हो। तर, कतिपय दुःखद घटनाहरुमा प्रहरी नजिकै हुँदा पनि ती घट्ना रोकिएनन्। घटनाको नजिकै प्रहरी रमिते बनेका उदाहरण धेरै छन्। प्रहरीकै सामुन्ने ठूला घटना हुनु कस्तो जायज विषय होला ? के प्रहरीको दायित्व घटनास्थलमा पुग्नुमात्रै हो ?अहिले रुकुम घटनाले प्रहरीको प्रभावकारीता र जिम्मेवारीमाथि यत्रतत्र प्रश्न उठाइरहेको छ।

चौरजहारी घटनास्थलबाट चौरजहारी प्रहरी कार्यालय पुग्न करिब १५ मिनेट लाग्छ। प्रहरी स्रोतका अनुसार प्रहरीले करिब ३० मिनेटपछि मात्रै घटना भएको खबर पायो। प्रहरी निरीक्षक सन्तोष लामिछानेसहित पाँचजनाको टोली घटनास्थल पुग्यो। जाजरकोटतर्फबाट पनि दुई जना प्रहरी घट्नास्थलमा पुगेका थिए। तर, प्रहरीले घटना भइरहँदा परैबाट नियालिरहेको र घटना साम्य पार्न नसक्दा ६ जनाको ज्यान गएको भन्दै प्रहरीको सर्वत्र निन्दा भइरहेको छ। संघीय प्रहरी इकाई कर्णाली प्रदेशले पनि प्रहरी घटनास्थलमा पुगेर प्रभावकारी भूमिका निभाउन नसकेको विषय स्वीकार गरेको छ। ‘पुरै गाउँले नै उल्टिएर आएका रहेछन्, त्यस्तो हुलमुलमा प्रवेश गरी समाधान गर्न प्रहरीलाई पनि सकस नै हुन्छ, सानो टिमको प्रहरीले घटनास्थलमा पुगेर निभाएको जिम्मेवारी महत्वपूर्ण छ, घटनाको तथ्यलाई प्रहरीले नै जोगाएको छ,’  संघीय प्रहरी इकाई कर्णाली प्रदेशको प्रहरी स्रोतले भन्यो।

घटनाका प्रत्यक्षदर्शीले दिँदै आएको वयान अनुसार घटना साम्य हुनासाथ प्रहरीले नवराजसँगै आएका दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीको उपस्थिति देखिन थालेपछि अन्य गाउँलेहरु तितरबितर भएका थिए। घटनामा संलग्नलाई प्रहरीले लकडाउन उल्लंघनको वहाना बनाएरै पनि तत्काल पक्राउ गरेको थियो। घटना बाहिरिएपछि प्रहरीले त्यसतर्फ थप गम्भीर हुँदै अनुसन्धान थालेको छ।

विकट क्षेत्रमाजघन्य अपराध हुँदासर्वप्रथम त्यसलाई साम्य पार्ने समाधानकारी निकाय प्रहरी नै हुन्छ। तर, प्रहरीले पनि आफ्नो जिम्मेवारीमा कमजोरी देखाएपछि आम सर्वसाधारणले त्यत्रो घटना हुँदा प्रहरी प्रश्न किन समयमै पुगेन भनेर निन्दा गरिरहेका छन्। घटनास्थलको अध्ययन गर्न अहिले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय, मानव अधिकार आयोगलगायतको टोली रुकुम चौरजहारी पुगेको छ। गृहको टोली बिहिबार काठमाडौं फर्किसकेको छ। टोलीले गृहमन्त्री राम वहादुर थापालाई अनुगमन व्यहोरोको जानकारी गराइसकेको छ। टोलीले स्थानीयसँग सोधपुछ र प्रमाणलाई अवलोकन गर्दा प्रहरी पुगेको समयको यकिन निकाल्न नसकेको बताउँदै आएको थियो। नजिकको प्रहरी कार्यालयले तत्काल पुगेको दाबी गरेको छ। तर, प्रहरी पुग्दापनि किन क्षति भयो भन्ने प्रश्न तेर्सिएको छ। ‘प्रहरी कार्यालय नजिकै रहेछ, यति नजिकको कार्यालयबाट पनि घट्नास्थल पुग्दा किन ढिलो भयो, यसबारेमा हामीले सोधिखोजी गरेका छौं,विकट क्षेत्रमा सुरक्षा दिने प्रहरीको पनि आफ्नै कठिनता हुनसक्छन् तर यो घटना जघन्य हो,’ घटनाको छानबीन गर्न रुकुमपुगेको गृह मन्त्रालयको छानबीन कमिटीका एक सदस्यले भने।

ठूलो घटना हुँदा प्रहरी प्रशासन तत्काल पुग्न नसक्नु कमजोरी पक्ष रहेको भन्दै केही सामाजिक अभियन्ताले प्रहरीमाथ प्रश्न गरेका छन्। रुकुम घटनालाई लिएर सामाजिक सञ्जालमा प्रहरीमाथि गुनासा पनि उठाइएको छ। ‘अपराध भइरहेको ठाउँमा सबैभन्दा पहिले पुग्ने सरकारी निकाय सम्भवत सुरक्षा निकाय नै हुन्छ,’ सामाजिक अभियन्ता नरेन्द्र चुदालीले भने, ‘तर, प्रहरी सन्तुलिन नभएको विषय बाहिर आउनु दुःखद कुरा हो।’

प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले प्रहरीले जस्तोसुकै अवस्थामा पनि आफ्नो जिम्मेवारी र कर्तव्य बिर्सन नहुने बताए। ‘कुनै पनि घट्नाको साक्षि प्रहरी हुनसक्छ, प्रहरीले आफ्नो धर्म बिर्सनु हुन्न,’ उनले भने, ‘यति लामो समय घटना चलिरहँदा प्रहरी प्रशासन किन पुग्न सकेन, गएको भए पनि किन सिटी मात्रै फुक्यो, कित प्रहरी दबाब, प्रभाव र डरमा पर्योन।’उनले सबैभन्दा पहिले मान्छे मर्नुभन्दा अघि प्रहरीले शान्ति सुरक्षा दिनु भएकाले किन अशान्ति भयो भन्ने गम्भीर रहेको बताए।

प्रहरी प्रधान कार्यालयले पनि एसएसपी पोषराज पोखरेललाई घटनास्थलमा पठाएको छ। माथिल्लो सुरक्षा इकाइबाट खटिएका अनुसन्धानदाताहरुले जिल्ला प्रहरीसँग समन्वय गर्ने प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी निरन शाहीले जानकारी दिए। उनका अनुसार घट्ना भएलगतै हेडक्वाटरले ११ गते एसएसपी पोखरेललाई रुकुम पठाएको थियो। बाहिरबाट खटिएको प्रहरी टोलीले निष्पक्ष तवरले घटनाको अनुसन्धान र छानबीन गर्न सघाउ पुर्या उने छ। ‘कानुनी व्यवस्था अनुसार हामीले छानबीन र अनुसन्धानको लागि माथिल्लो कार्यालयबाट प्रहरी पठाएका छौं, यसो गर्नुको कारण घट्नास्थल नजिकको प्रहरीसँग समन्वय गर्न र प्रहरीको कमजोरी नहोस् भने हो,’ प्रवक्ता शाहीले भने। उनका अनुसार घटना भएलगत्तै हेडक्वाटरले घटनाका फिजिकल इभिडेन्स संकलन गर्न कर्णाली प्रदेश प्रहरीलाई निर्देशन दिएको थियो। नागरिक दैनिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार