भुक्तानी रोकिएपछि डायलासिस सेवा बन्द गर्ने अस्पतालको घोषणा

भुक्तानी रोकिएपछि डायलासिस सेवा बन्द गर्ने अस्पतालको घोषणा

जेठ २६ बुटवल

सरकारले दिने अनुदान रोकिएपछि बुटवलको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीलाई दिँदै आएको डायलासिस सेवा बन्द गर्ने घोषणा गरेको छ ।

२०७३ पुसदेखि मिर्गौला रोगीलाई निशुल्क डायलासिस सेवा दिँदै आएको यस अस्पतालले असार १ गतेदेखि सेवा दिन नसक्ने बताएको छ ।

यस अस्पतालमा प्रदेश ५ का तीन सय ५० जना मिर्गौला रोगीले डायलासिस गराउँदै आएका छन् । सरकारले मिर्गौला रोगीलाई हप्तामा दुई पटकसम्म डायलासिस सेवा निशुल्क दिने घोषणा गरेपछि यस अस्पताललाई पनि डायलासिस सेवा दिने अस्पतालको नाममा सूचीकृत गरिएको थियो ।

मिर्गौलारोगीको एक पटक डायलासिस गरेवापत सरकारले अस्पताललाई २५ सय रुपैयाँ दिँदै आएको छ । तर पछिल्लो ११ महिनादेखि सरकारले आफूहरुलाई रकम नदिएको अस्पतालले जनाएको छ । अस्पतालले अहिलेसम्म सरकारबाट करिब ८ करोड रुपैयाँ पाउन बाँकी रहेको बताएको छ ।

‘विगत वर्षदेखि नै ढिलासुस्ती र अल्मल्याउने काम हुंदै आएको थियो, चार–पाँच महिनाको अन्तरमा रकम निकासा हुँदै आएको थियो’ अस्पतालका अध्यक्ष एजाज आलमले भने ‘तर चालु आर्थिक वर्षमा भने केन्द्र र प्रदेश सरकार बीच नवीकरणका विषयमा भएको अन्योल र अलमलका कारण एघार महिना बितिसक्दा पनि रकम निकासा हुन सकेको छैन ।’

ठूलो रकम भुक्तानी रोकिँदा अस्पतालको सेवा सञ्चालनमै समस्या भएको आलमले बताए ।

भुक्तानी रोकिएपछि बिरामीको डायलाइसिस गर्न आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युबलालगायतका सामान किन्न नसकेको र सप्लायर्सले पनि उधारोमा सामान दिन छाडेको अस्पतालका अध्यक्ष आलमले गुनासो गरे ।

‘११ महिनासम्म थेग्यौं, अब जेठ मसान्तसम्म सरकारबाट रकम भुक्तानी नभए असार १ गतेदेखि सेवा नै बन्द गर्न बाध्य हुन्छौं’, अध्यक्ष आलमले भने, ‘चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीहरुको उपचारको लागि चाहिने औषधी पनि अभाव भएको छ ।’

नवीकरण कसले गर्ने भन्ने विषयमा प्रदेश र केन्द्र सरकारबीचको विवाद हुँदा रकम नपाएको आलम बताउँछन् । प्रदेशबाट नवीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको तर केन्द्रले प्रदेशबाट नवीकरण हुन नसक्ने भनी हालैमात्र पत्र पठाएपछि भुक्तानीमा पनि समस्या भएको अध्यक्ष आलमले बताए ।

अस्पतालले बुटवल, पाल्पा र लमहीबाट डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । बुटवलमा २०, दाङको लमहीमा १०, पाल्पाको तानसेनमा १० वटा गरी ४० वटा डायलासिस मेसिनमार्फत बिरामीको नियमित डायलाइसिस भइरहेको अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीले जानकारी दिए ।

रुपन्देही उद्योग संघको संरक्षकत्व, रोटरी क्लब अफ बुटवल डाउन टाउन, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लमहीको सहयोगमा यो अस्पताल सञ्चालन भइरहेको छ । अनलाइन खबरबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार