कोभिड १९ सङ्क्रमण भएका महिलाले स्तनपान गराउन सक्छन्’

Duduwa Corona

कोभिड १९ सङ्क्रमण भएका महिलाले स्तनपान गराउन सक्छन्’

असार ८ काठमाडौं

कोभिड– १९ को सङ्क्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन सक्नेछन्।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बच्चालाई स्तनपान गराउँदा कोभिड– १९ नसर्ने भएकाले कोभिड– १९ भएका महिलाले पनि स्तनपान गराउनसक्ने बताइन्।

“कोभिड भएको महिलालाई स्तनपानमा कुनै समस्या देखिएको छैन, कुनै पनि कारणले बच्चालाई स्तनपान गरायो भने बच्चामा कोभिड– १९ सर्दैन भन्ने अनुसन्धानबाट आएको छ”, उनले भनिन्, “त्यही भएर कोभिड भएको महिलाले पनि आफ्नो बच्चालाई आरामले गराउन सक्नेछन्।”

उनले कोभिडसँग डराएर गर्भवती महिला नियमित स्वास्थ्य परीक्षण नगराएको भन्दै कोभिडसँग नडाई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्न आग्रह गरिन्। उनका अनुसार गर्भवती महिलाले तीन, छ, आठ र नौ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्दछ।

अस्पतालका निर्देशक डा मिश्रले बन्दाबन्दी कारण संस्थागत प्रसूति गराउने महिला घटेको समेत बताइन्। उनले गर्भवती महिलालाई रक्तश्राव, पेट दुख्ने, बच्चा नचलेको, नियमित परीक्षण गर्नुपर्ने भन्दै उच्च रक्तचाप भएका बेलामा आँखा धमिलो देख्नु, पेट दुखेमा तुरुन्त अस्पताल जान पनि सुझाव दिइन्। यसबाहेक १०४ डिग्रीभन्दा बढी ज्वरो आएकामा श्वासप्रश्वासमा समस्या भएमा पनि अस्पताल जानुपर्दछ।

उनले प्रसूति गराउन अनिवार्यरुपमा स्वास्थ्य संस्थामा जान समेत आग्रह गरिन्। डेलीभरि भएपछि पनि पहिलो, तेस्रो, सातौं र २८ औं दिनमा नजिकको स्वास्थ्य संस्थामा गई वा चिकित्सकसँग टोलिफोन गरी आफ्ना समस्या सामाधान गर्नुपर्ने उनको भनाइ छ।

मन्त्रालयले मातृ तथा नवशिशुलाई कोभिड– १९ सम्बन्धी मापदण्ड तयार पारेकाले त्यहीअनुसार स्थानीय अस्पतालले सुत्केरी महिलालाई सेवा दिइने उनले बताइन्।

अस्पतालले गर्भवती महिलालाई सेवाविमुख गराउन नपाउने उनको भनाइ थियो। महिलालाई नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एशोसिएसनले चिकित्सकको सूची नै जारी गरेर फोनमा नै परामर्श दिने व्यवस्था गरेको उनले जानकारी दिइन्। रासस

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार