ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घरभाडा छुट दिइने

ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घरभाडा छुट दिइने

काठमाण्डौ । ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।

पर्यटन क्षेत्रका २२ संस्थाले बिहीबार  ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् ।

कोभिड–१९ महामारीकाे कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुँदा त्यस क्षेत्रमा दुई सय ७० कोठा तथा सटर खाली भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्दवारा गठित कोभिड १९ पर्यटन व्यवसायी विपद् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका तीन सय ५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माले जानकारी दिए ।

लकडाउनकाे कारण तीन महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन् ।

ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्षसम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युतकाे युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ठमेल क्षेत्रमा दुई सयभन्दा बढी घरधनी र १० हजार व्यवसायी रहेको जानकारी दिइएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार