सोती घटनामा फरार ५ अभियुक्त पुर्पक्षका लागि थुनामा

सोती घटनामा फरार ५ अभियुक्त पुर्पक्षका लागि थुनामा

काठमाडौ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा फरार रहेका पाँच जना अभियुक्तलाई पुर्पक्षको लागि थुनुवामा राख्ने आदेश भएको छ ।
जिल्ला अदालत रुकुम पश्चिममा मङ्गलबार भएको अभियुक्तको बयान र वादी प्रतिवादीका वकिलहरुको थुनछेक बहसपछि भएको आदेशमा चार जना अभियुक्तलाई थुनुवामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेष्तेदार लक्ष्मण विकले जानकारी दिएका छन।
पुर्पक्षको लागि थुनामा जानेहरुमा चौरजहारी नगरपालिका ८ का तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती रहेका छन् ।

उनीहरूविरुद्ध जातीय विभेद, कर्तव्य ज्यानसहित तीन अभियोगमा मुद्दा दायर भएको थियो। फरार रहेका बाहेक ३० जनाको हकमा यसअघि जिल्ला अदालतले आदेश सुनाइसकेको थियो। उनीहरुको नाममा पनि जिल्ला अदालतले फरारी म्याद पठाएको थियो। जिल्ला अदालतले खोजी थालेपछि उनीहरु आफैं अदालत उपस्थित भएका थिए।

पाँच जना फरारको सूचीमा रहेकामध्ये भीमबहादुर घर्ती असार २८ गते जिल्ला अदालत रुकुम पश्चिममा आफै हाजिर भएपछि २८ गतेको बयान र बहसपछि पुर्पक्षको लागि थुनुवामा राख्ने आदेश भएको थियो ।

योसँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षको लागि थुनुवामा राख्ने आदेश भएको छ । जसमा दुई जना नाबालक रहेको र उनीहरुलाई बाल सुधार गृहमा राख्ने आदेश भएको थियो । तीन जना साधारण तारेख र एक जना एक लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला अदालत रुकुम पश्चिमले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार