लुतो फाल्ने चलन हराउँदै

लुतो फाल्ने चलन हराउँदै

फाईल फोटो

नुवाकोट । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन आज नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ लुतो फाल्ने चलन  थियो । अहिले समयमा  जिल्लाका धेरै ठाउँका स्थानीयवासीले लुतो फाल्न बिर्सिसकेका छन् ।

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय रहेका छन् । जिल्लाका सबै ठाउँमा प्रायजसो लुतो फाल्ने चलन लोप भइसकेको छ । आजकल मानिसले सास्ंकृतिक कुरा भुल्दै गएको तारकेश्वर गाउँपालिका–४  बुधसिंहका पण्डितले रुद्रप्रसाद देवकोटाले बताउछन् ।

देवकोटा भन्छन्, “साउनको पहिलो सोमबारदेखि शिवको ब्रत बसी पूजाआराधना गरिन्छ । पार्वतीले साउन महिनाभरि निराहार  कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुन् । बुधसिंहमा पहिला, पहिला लुतो फाल्ने चलन थियो । पूजाआराधना गरेर ब्रत बसी साँझका समयमा साइत हेरेर मात्र फाल्ने चलन थियो । अबको पुस्ताले न लुतो फाल्छ, न साउने सङ्क्रान्ति नै मनाउँछ ।”

उनका अनुसार लुतो फाल्ने दिन गाउँका महिला, घरमूलीलाई भ्याईनभ्याई हुन्थ्यो । लुतो फाल्ने सामग्री जङ्गलमा गएर जुटाउनै दिनभरि लाग्ने गर्थ्यो । स्थानीयवासी झङ्कबहादुर वस्तीले १५-२० वर्षअघिसम्म लुतो फाल्ने चलनलाई चाडकै रुपमा लिने गरेको बताए ।

वस्ती भन्छन्, “लुतो फाल्नकै लागि  जमानामा म  आफैँ लुतो फाल्ने सामग्री हाम्रै वन, जंगल र बारीका कान्ला, खोल्चामा खोज्दै हिँड्ने गरेको थिएँ । अब तचलन पनि हरायो, कोही छोरा विदेश, कोही आफनै जागीरको सिलसिलामा शहर केन्द्रित भए ।अब को लुतो फाल्ने दिन भनी सम्झेर गाउँमा आउँछन् र ।”

उनका अनुसार कुकुर दाइना, भलायोको पात, कुरिलो, पानीसरो, पुरेनी गलेनी, लजावती काँडाँ, धयँरी, अरेलीको काँडा, अँयरी, फड्काइलो, चिलाउनेको पात, कटुस, भक्केअमिलो, बुट्टीझार, चरीअमिलो, बकाइनो, रुदिलोलगायत बर्खामा पाइने वनस्पति र मकैलाई लुतोको विशेष सामग्रीका रुपमा लिएर साँझपख थाल ठटाउँदै विधिपूर्वक फाल्ने चलन थियो  ।

विदुर नगरपालिका–३ भोर्लेकी मैयाँदेवी खड्काले लुतो फाल्ने साउनको संक्रान्तिका दिन नमनाउँदा घाउखटिरा आउने, बिरामी हुने पुरानो विश्वास रहेको बताए । लैजा है मूलथला डाँडा, लुतो लैजा भनेर कराउँदै अरेलीको दाउरा र कुरिलो जलाउँदै बलिरहेको अगुल्टो हातमा लिई कराउने गरेको सम्झना उनी गर्छन् ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित पनि नुवाकोटका प्रायः ठाउँहरुमा लुतो फाल्ने चलन हराउँदै गएकामा असन्तुष्ट छन् । पण्डित भन्छन्, “नेपाली समाजमा साउने सङ्क्रान्तिलाई लुतो फाल्ने विशेष दिनका रुपमा लिने गरेको पाइन्छ  तर हामीले पुराना चलनलाई भुल्दै गएका छौं, यो राम्रो भएन ।”

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार