साउन ८ गतेदेखि सार्वजनिक यातायात चलाउन व्यवसायी सहमत

साउन ८ गतेदेखि सार्वजनिक यातायात चलाउन व्यवसायी सहमत

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गते बिहिबार देखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

पुनर्कर्जालगायत बैंकिङ विषयमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गरेको र चालक सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र व्यवसायीले आधा आधा व्यहोर्ने सहमति जुटेपछि व्यवसायीहरू बस चलाउन राजी भएका हुन्।
सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तिनवटा ट्रेड युनियनहरू नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ, महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो।

छलफलमा मुख्यगरी चार वटा सहमति भएको हो। यातायात श्रमिकहरूको समूहिक कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा भुक्तानी गर्ने, यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू ९मास्क, स्यानिटाइजर, पन्जा, पिपिई० सम्बन्धित व्यवसायीले उपलब्ध गराउने, लामो, छोटो र मध्यम दूरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभागको मार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्नेलगायतका विषयमा सहमति भएको हो।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार