खोलाले बगाएका २ एम्बुलेन्स प्रहरीद्वारा उद्धार

खोलाले बगाएका २ एम्बुलेन्स प्रहरीद्वारा उद्धार

तुलसीपुर  । बाढीले आज बिहान बगाएका २ वटा एम्बुलेन्स प्रहरीले बचाएको छ ।  जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बिहान ५ बजेतिर नारायणपुरबाट तुलसीपुर आउँदै गरेको रा १ च ८९२ नम्बरको एम्बुलेन्सलाई घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुर खोलामा आएको बाढीले बगाएको थियो ।

२० मिटर तल बगाएको उक्त एम्बुलेन्सलाई प्रहरी नायव निरीक्षक भीमबहादुर सुनारसहित पुगेको सात जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी उपरीक्षक गणेश चन्दसहितको २० जनाको टोलीले सकुशल उद्धार गरेको हो । उक्त एम्बुलेन्समा ५ जना सवार थिए ।

त्यस्तै, आजै बिहान ५  बजेतिर घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलाले पनि कपिलवस्तुबाट तुलसीपुर आउँदै गरेको रा १ च ८११ नंको एम्बुलेन्स सिस्नेखोलाले सडकदेखि १५ मिटर तल बगाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । जिल्लाका पत्रेखोला, सिस्नेखोला, हापुरखोलामा पुल नहुँदा बर्सातको समयमा सास्ती खेप्नुपरेको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार