कैदीबन्दीमा काेराेना देखिएपछि वीरगञ्ज कारागार सिल

कैदीबन्दीमा काेराेना देखिएपछि वीरगञ्ज कारागार सिल

वीरगञ्ज । वीरगञ्ज कारागार सिल गरिएकाे छ। कारागारमा एक महिलासहित आठ जनामा कोरोनाकाे सङ्क्रमण भेटिएपछि कारागार सिल गरिएको कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेलले बताए।

सङ्क्रमित कैदीबन्दीकाे कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष (उपचार केन्द्र) मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ। एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेशन बनाएर उपचार भइरहेको जनाइएको छ।

कारागारभित्र प्रशासनिक काम बाहेक सबै काम बन्द रहेको छ। कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएका उनका आफन्तको स्वाब परीक्षण गर्न उनीहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ।

हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन्। ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ। कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ।

कारागारमा भारतीय कैदीबन्दी बढी रहेको र भारततर्फ कोरोना सङ्क्रमण बढी देखिएकाले कारागार अहिले कोभिड–१९ को उच्च जोखिममा रहेको छ। यसलाई दृष्टिगत गरेर कैदीबन्दीको आफन्तले ल्याउने कोसेली कारागारका कर्मचारीले पुर्‍याउने काम बन्द गरिएको छ। कारागारमा कोरोना सङ्क्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई सङ्क्रमण नपरोस् भनेर कारागार प्रशासनले कारागार सिल तथा भेटघाट बन्द गरिएको छ।  रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार