दाङको गढवामा सर्पदंश उपचार केन्द्र स्थापना

दाङको गढवामा सर्पदंश उपचार केन्द्र स्थापना

काठमाडौँ । दाङ जिल्लामा पहिलो पटक सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ । जिल्लाको गढवा गाउँपालिकाले सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो । गाउँपालिकाको एक करोड लगानी र विभिन्न सरोकारवाला निकाय, स्थानीयको श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको छ।

उपचार केन्द्र निर्माण सम्पन्न भएर सञ्चालनको अन्तिम तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए। सर्पको डसाईबाट वर्षेनी उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको उनले जानकारी दिए।

सरकारले यस अघि सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेको छ । यस्तै प्रदेश सरकारबाट उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्री प्राप्त हुनासाथ सर्पदंश उपचार केन्द्र सञ्चालन हुनेछ।

उक्त केन्द्र सञ्चालनका लागि रिपुमर्दन गण घोराहीबाट नेपाली सेनाको एक प्राविधिक टोलीसमेत परिचालन भइसकेको छ। रक्षा मन्त्रालयसँगको समन्वयमा उपचारमा खटिने नेपाली सेनाको प्राविधिक टोलीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए। उनका अनुसार केन्द्रमा सर्पदंशको उपचार गर्न आउने बिरामीको उपचार खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ।

उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि गढवा, राजपुर, राप्ती, लमहीलगायत आसपासका क्षेत्रका स्थानीयले प्रत्यक्ष लाभ लिन सक्नेछन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार