भदौ देखि कम्पनी दर्ताको काम अनलाइनबाट

भदौ देखि कम्पनी दर्ताको काम अनलाइनबाट

काठमाडौँ । भदौ देखि अब कम्पनी रजिष्ट्रार कार्यालयमा भीडभाड कम हुने भएको छ। अब देखि कार्यालयबाट हुने सबै काम अनलाइनबाटै हुने बताएको छ । कार्यालयले नयाँ कम्पनी दर्ता गराउन सहज होस् भनि दर्ता प्रक्रिया डिजिटल प्रणालीबाट गर्ने बताएको छ ।

‘भदौको सुरुदेखि कम्पनी राजिष्टारको कार्यालय डिजिटल प्रविधिबाट सेवा दिने भएको छ’, कार्यालयका रजिष्ट्रार प्रदीप राज अधिकारीले भने, ‘अब पहिलेको जस्तो सेवाग्राही फाइल लिएर कार्यालय आउनुपर्दैन । कागज बोकेर कार्यालय आउनु पर्ने दिनको अन्त्य हुन्छ हामी कागजी फाइलको जाँच गर्ने छैनौं ।’ उद्योगहरूको र व्यक्तिगत कम्पनीको बारेमा एक क्लिकमा सबै काम गर्न कार्यालयलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो एकीकृत तथ्याङ्क प्रणालीको विकास गरिएको अधिकारीले बताए।

डिजिटल प्रविधिबाट कम्पनी दर्ता सुरु गरेसँगै दुई मिनेटको समयमा अटोमेटिक प्रविधिबाट कम्पनी दर्ता हुन्छ । त्यसैले गर्दा डिजिटल हस्ताक्षर समेत प्रचलनमा ल्याउने तयारीसहित कार्यालय अघि बढेको उनको भनाइ छ । रजिष्ट्रार अधिकारीले व्यवसायिक सुशासनको लागि समेत कार्यालयमा डिजिटल प्रविधि आवश्यक रहेको बताए । कागजी फाइलका कारण विभिन्न समस्या देखापरेको हुँदा प्रविधिमैत्री कार्यालय बनाउनको लागि अघि सरेका हौं, उनले भने, तर व्यवसायिक सुशासन नचाहने तत्वले कार्यालयलाई प्रविधि मैत्री हुनुबाट रोक्ने प्रयास समेत गरेका छन् । उनले त्यस्ता तत्वहरुको बारेमा को के लागेको भन्ने बारेमा भने कुनै जानकारी दिन चाहेनन् ।

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले नै कार्यालयले सुरु गर्ने प्रविधिमैत्री सेवामा पूर्ण सहयोग गर्नु भएको छ, रजिष्ट्रार अधिकारीले भने, केहि तत्वहरु छन् जो कर्मचारीलाई नकारात्मक प्रभाव पार्न चाहन्छन् हामी तिनीहरुलाई पन्छाउदै अघि बढ्ने छौं । पछिल्लो दुई आर्थिक वर्षमा मात्रै प्राइभेट कम्पनी, पब्लिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी गरेर करिब २० हजार नयाँ कम्पनी कार्यालयमा दर्ता भएका छन् । आव २०७६/०७७ मा १८ हजार ६ सय ५४ वटा र आव ०७७/०७८ काे सुरुमा एक हजार ४ सय ६५ वटा नयाँ कम्पनी कार्यालयमा दर्ता भएका छन् । अब कार्यालयले मासिक गतिविधिको रिपोर्ट सार्वजनिक समेत गर्ने भएको छ। जसले आगामी दिनमा स्वतन्त्रतापूर्वक सबैले तथ्याङ्कको विश्लेषण समेत गर्न पाउने छन्।

२० हजार कम्पनी दर्ता गर्ने लक्ष्य
यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्ष २०७७/०७८ का २० हजार नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य लिएको छ । हालसम्म करिब २ लाख ५० हजार वटा कम्पनीहरु दर्ता भईसकेको अवस्थामा थप २० हजार नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य राखेको रजिष्ट्रार अधिकारीले बताए । ‘हालसम्म प्राइभेट कम्पनी, पब्लिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी गरी २ लाख ५० हजारभन्दा बढी कम्पनी कार्यालयमा दर्ता भएका छन्’, उनले भने, ‘यी तीनवटै कम्पनी गरेर हामीले आफनो लक्ष्य पुरा गर्न सक्छौं । मुलुकमा लगानीमैत्री वातावरण बनेको र कम्पनी स्थापना गर्ने लय समेतमा वृद्धि भएको हुदाँ सो संख्यामा नयाँ कम्पनी आउने कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार