उपत्यकाका यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

उपत्यकाका यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडाैं । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण तत्कालका लागि सेवा स्थगित गरिएकाे जनाइएकाे छ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन। कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो। कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गारो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए।

उनका अनुसार काठमाडौं उपत्यकामा सङ्क्रमण बढिरहेकाले एकान्तकुनासँगै जगाती, सुकेधारा र ठूलोभर्‍याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन्। उनले भने, ‘उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन।’ कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो। त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो। चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजस्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ।

नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ। कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ। उनले भने, ‘सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो।’रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार