व्यवस्थापन समिति गठनमा सधैं सर्वसम्मत गराउने एक मात्र विद्यालय

व्यवस्थापन समिति गठनमा सधैं सर्वसम्मत गराउने एक मात्र विद्यालय

 सुदर्शन सिग्देल/लालीकाँडा (दैलेख)

अठारौंं कार्यकालसम्म एउटा विद्यालयको व्यवस्थापन समितिमा एकपल्ट मात्र चुनाव भएको थियो भन्दा अनौठो लाग्न सक्छ । हो, यस्तै अनौठोे भएको छ, दैलेख जिल्लाको गुराँस गाउँपालिका–७ स्थित शान्ति मावि लालीकाँडामा । यो स्कूलको १७ औं विव्यसको अवधि भर्खरै सकियो र १८ औं नयाँ समिति गठन प्रक्रिया पनि सर्वसम्मतिमै पूरा भयो । ‘अहिलेसम्म यो विद्यालयमा एकपल्ट मात्र चुनाव भयो, नत्र सबैमा सर्वसम्मतिले समिति गठन हुँदै आएको छ,’ प्रधानाध्यापक खगेन्द्रकुमार विसी भन्नुहुन्छ, ‘नयाँ समिति गठन पनि सर्वसहमतिमै हुनुले हामी निकै खुशी छौं ।’

२०१७ सालदेखि यो विद्यालयमा व्यवस्थापन समिति गठन भएको हो । पहिलो अध्यक्ष वृषबहादुर बुढा हुनुहुन्थ्यो भने अहिले १८ औं मा हुकुमबहादुर खत्री अध्यक्ष हुनुभएको छ । गुराँस गाउँपालिकाका वडा नं ७ का अध्यक्षसमेत रहनुभएका खत्री यही मंसिर ८ गते विव्यस अध्यक्षमा सर्वसहमत चयन हुनुभएको हो । पहिलो अध्यक्ष वृषबहादुर बुढादेखि हुकुमबहादुर खत्रीसम्म आइपुग्दा २०५९ सालमा हंसबहादुर थापा मात्र चुनाव लडेर अध्यक्ष बन्नुभएको थियो । जिल्लाका अरु विद्यालयहरुमा प्रायः चुनाव हुने गर्छ । अझ चुनावका नाममा राजनीतिक खिचातानी र त्यसले निम्तिने विवादको मारमा ती विद्यालयहरु पर्ने गरेका छन् । विद्यालयप्रतिको सामुदायिक चासो र एकता देखेर जिल्लाका अरु स्कूलले पनि पाठ सिक्न सक्ने प्रअ विसी बताउनुहुन्छ । ‘यहाँ सर्वसम्मति हुनुमा मुख्य कुरा समुदायको विद्यालयप्रतिको अपनत्व नै हो,’ उहाँले भन्नुभयो । अहिलेसम्म सर्वसहमतिको संस्कृतिका कारण विद्यालयमा शिक्षक र समुदायबीच ‘टिम स्पिरिट’ स्थापित भएको प्रअ विसीको भनाइ छ । नवनिर्वाचित विव्यस अध्यक्ष हुकुमबहादुर खत्री भन्नुहुन्छ, ‘अब विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । हामी अब यो विद्यालयलाई साँच्चैको नमूना बनाउनेछौं । नर्म्स अनुसार शिक्षकलाई नियमित बनाउनेदेखि शैक्षिक गुणस्तरका निम्ति सक्रिय हुनेछौं ।’

दैलेखको दक्षिण भेकमा रहेको गुराँस गाउँपालिकाका उत्कृष्ट विद्यालयमध्ये शान्ति मावि पनि एक हो । राम्रो पठनपाठन, शिक्षकहरुको सिकाउने प्रतिबद्धता, अभिभावकसँगको घनिष्ठ सम्बन्ध, स्कूलप्रति समुदायको चासो, विद्यार्थीको सिकाइ उपलब्धि, उनीहरुको अतिरिक्त क्रियाकलापमा सक्रियता आदिमा यो विद्यालय अग्रपंक्तिमा देखिन्छ । यसो हुनुमा सेवाक्षेत्रका समुदायको एकतापूर्ण सहयोग र शिक्षक–विद्यार्थीको प्रतिबद्धता नै मुख्य हो । हुनपनि समुदायकै बलमा अहिले रहेको विद्यालय प्राङ्गण खारिएको थियो । दधे बुढा ७६ वर्षको हुनुहुन्छ । विद्यालयलाई गाउँलेहरुले कसरी सहयोग गरेका थिए भन्ने सम्झना उहाँसित ताजै छ । भन्नुहुन्छ, ‘जुम्लामा पैदलै पुग्नुपर्थ्यो । त्यहाँ कपडा र खाद्यान्न बेचेर ल्याएको पैसा चन्दाका रुपमा दिएर विद्यालय सञ्चालन गर्न मद्दत गरेको छु । मेरा छोराछोरी यहाँ पढ्न पाए, म ज्यादै खुशी छु ।’

सर्वसहमतिका कारण विद्यालयमा कुनै राजनीति हुने गर्दैन । अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीका भातृ संस्थाले विद्यालयमा कमिटि बनाएका छैनन् । न त मदिरा खाएर विद्यालय वरिपरि कसैले होहल्ला नै गर्न पाउँछन् । किनकि, विव्यसकै निर्णयमा यस विद्यालयलाई ‘शान्तिक्षेत्र’ घोषणा गरिसकिएको छ र मदिरा निषेध पनि ।

राम्रो पढाइ भएकै कारण साढे दुई घण्टा टाढा मर्खेदेखि ओखरेनी, झोझ हुँदै यो विद्यालय विद्यार्थी आइपुग्छन् । तिनका लागि अब छात्रबास चाहिएको छ । प्रदेश सरकारबाट परेको ६ कोठे भवन निर्माण गरी त्यसलाई छात्राबासका रुपमा स्थापना गर्ने योजना नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीले सुनाउनुभयो ।

 

‘अहिलेसम्म यो विद्यालयमा एकपल्ट मात्र चुनाव भयो, नत्र सबैमा सर्वसम्मतिले समिति गठन हुँदै आएको छ । नयाँ समिति गठन पनि सर्वसहमतिमै हुनुले हामी निकै खुशी छौं ।’
–खगेन्द्रकुमार विसी, प्रधानाध्यापक, शान्ति मावि लालीकाँडा, दैलेख

 

‘अब विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । हामी यो विद्यालयलाई साँच्चैको नमूना बनाउनेछौं । नर्म्स अनुसार शिक्षकलाई नियमित बनाउनेदेखि शैक्षिक गुणस्तरका निम्ति सक्रिय हुनेछौं ।’
–हुकुमबहादुर खत्री, नवनिर्वाचित विव्यस अध्यक्ष, शान्ति मावि लालीकाँडा, दैलेख

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार