हेर्दाहेर्दै छोरालाई चितुवाले लग्यो !

हेर्दाहेर्दै छोरालाई चितुवाले लग्यो !

तनहुँ । बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारका कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहेकी थिइन् । डेढ वर्षीय छोरा नारायणले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो । कृष्णमाया आत्तिइन्, चिच्याइन् तर केही सीप लागेन ।

“हेर्दाहेर्दै चितुवाले छोरालाई झम्टिएर लगिहाल्यो, एकछिन चिच्याए तर मेरो केही सीप लागेन”, आँखाभरी आँशु निकाल्दै कृष्णमायाले भनिन्, “सँगै भएको छोरालाई केही सेकेण्डमै चितुवाले लगेर मार्यो ।”

त्यतिबेला कृष्णमायाका ससुरा पनि घरको पिढीमै थिए । कान कम सुन्ने भएकाले चितुवाले नातिलाई झम्टेर लगेको उहाँले पत्तो पाएनन् ।  बालकका बुबा विष्णुबहादुर मेलाबाट घर फर्किदै थिए । तत्कालै हारगुहार भएपछि स्थानीयवासी जम्मा भएर बालकलाई खोज्नेतर्फ लागे ।

एक-डेढ घण्टा खोजेपछि घरभन्दा तलको जङ्गलमा नारायणको टाउको र एउटा हात फेला पर्यो ।

मसारमा चार घरधुरीको मात्रै बसोबास छ । चारैतिर जङ्गलले घेरिएको ठाउँ । मृत्यु भएका नारायण कृष्णमायाका कान्छा छोरा हुन् । जेठो छोरा रोहन ७ वर्षका छन् । घटना भएको बेला जेठो छोरा रोहन र सासु घरभित्र थिए ।

चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि स्थानीयवासी त्रसित छन् । स्थानीयवासी पूर्णबहादुर रानाले चितुवाले फेरि पनि आक्रमण गर्न सक्ने भएकाले सतर्क रहनुपर्ने बताए । “दुई चारदिन अगाडी पनि गाउँमा चितुवा आएको थियो, त्यतिबेला लखेटियो । यस्तो दुखद घटना हुन्छ भन्ने सोचिएन”, उनले भने ।

तनहुँमा पछिल्लो समय चितुवाको आक्रमण बढ्दै गइरहेको छ । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन यता दश जना बालबालिकाले ज्यान गुमाएका छन् भने आठ जना घाइते भएका छन् । तनहुँमा भएका चितुवा आक्रमणका घटना सबै रातिको समयमा भएका छन् । “साँझ परेपछि चितुवाले आक्रमण गर्ने गरेको देखिएको छ,” डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले भने,  “घरबाहिर कुरेर बस्ने र बच्चालाई आक्रमण गर्ने गरेको यस अगाडीको घटनाले देखाएको छ ।”

जिल्लामा चितुवाको आक्रमणका घटना सबै साँझको समयमा भएकाले त्यसबेला विशेष सतर्कता अपनाउनुपर्ने बरालको सुझाव छ । “रातको समयमा बालबालिकालाई घरबाहिर एक्लै छाड्न हुँदैन, घर वरपरका झाडी सफा राख्ने, घरबाहिर उज्ज्यालो राख्नुपर्छ”, उनले भने । बरालका अनुसार एक पटक चितुवाले आक्रमण गरेपछि उक्त चितुवा तीन-चार दिन सोही ठाउँ वरपर घुम्ने गर्छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार