सरकारी रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

सरकारी रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सरकारी रकम व्यक्तिगत खातामा राख्ने  लेखापालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत रहेका उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन केसी रहेकाे प्रहरीले जनाएकाे छ।

उनीहरूलाई प्रहरीले बिहीबार राति ९ बजे गाउँपालिकाको कार्यालयबाटै पक्राउ गरेको । उनीहरुले सरकारी रकम व्यक्तिगत खातामा जम्मा गरेर कारबाहीबाट बच्न राति कार्यालयमा गई कागजात मिलाउँदै गरेका थिए । बाहिरबाट ताला लगाई भित्र कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका चारै जनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुको आज दिउँसो थप अनुसन्धान गरिने भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा जम्मा गरेका थिए । पछि उनीहरूले उक्त रकम गाउँपालिकाकै खातामा (फिर्ता) जम्मा गरेका छन। तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता गरेका हुन ।

यस्तै गाउँपालिकाले सरकारी रकम विना कारण व्यक्तिको खातामा जम्मा भएपछि त्यसको अनुसन्धान सुरु गरेको । गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तिको संयाजकत्वमा गठित छानबिन कार्यदलमा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट, वडा नं. १ का वडाअध्यक्ष मोहनकिशोर ओली, वडा नं. ४ का वडाअध्यक्ष चन्द्रबहादुर खड्का, वडा नं.५ का वडाअध्यक्ष खड्कबहादुर घर्तिमगर, वडा नं. ८ का वडाअध्यक्ष कर्णबहादुर खड्का र वडा नं. ९ का वडाअध्यक्ष बिरबहादुर डाँगी सदस्य रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार