चितवनको इच्छाकामना गाउँपालिकामा ताला

चितवनको इच्छाकामना गाउँपालिकामा ताला

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकामा ताला लगाएको छ। विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।

गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन ।

वडा कार्यालय फिस्लिङ राख्नुपर्ने प्रस्ताव वडाध्यक्ष गोवर्द्धन अधिकारीको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा सदस्य डिलबहादुर चेपाङको रहेको थियो । दुवै प्रस्तावमा जनप्रतिनिधिहरुको सङ्ख्याबाट बहुमत नपुगेपछि वडा कार्यालय कहाँ रहने भनी टुङ्गो लाग्न सकेको थिएन ।

असन्तुष्ट स्थानीयवासी शिव पौडेलले कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा वडा कार्यालय फिस्लिङ नै स्थायीरूपमा सार्ने मनसायले गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको मिलेमतोमा वडाध्यक्ष अधिकारीले जनतालाई थाहा नै नदिई सुटुक्क वडा कार्यालय सारेको आरोप लगाए । उनले विवाद समाधान नभई वडा कार्यालय अन्यन्त्र सारेकाले दबाब दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको बताए । विवाद समाधान नभएसम्म ताला नखुल्ने उनले चेतावनी दिए । गाउँपालिका अध्यक्ष र वडाध्यक्षले जनताको माझ पर्ने स्थान छाडेर आफ्नै गाउँ फिस्लिङमा सारेको असन्तुष्ट स्थानीयवासीहरुले आरोप लगाएका छन् ।

वडाध्यक्ष अधिकारीले भने विवाद नटुङ्गिएसम्मका लागि मात्र अस्थायीरूपमा तत्काल कार्यालय सञ्चालनका लागि फिस्लिङस्थित क्लबको भवनमा सामान लगिएको बताए । आगामी गाउँसभामा पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने भन्दै उनले आक्रोशित नबन्न आग्रह गरे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार