पेस्तोल देखाएर रकम असुल्ने पाँच जना पक्राउ

पेस्तोल देखाएर रकम असुल्ने पाँच जना पक्राउ

काठमाडौँ । मोरङमा पेस्तोल देखाएर रकम असुल गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने २७ वर्षका राजु साह, कटहरी गाउँपालिका–२, आदर्शनगरका २६ वर्षीय किसन साह र २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बोदेबर्साइन–८ का नन्दकिशोर साह रहेका छन् ।

पक्राउ परेकाहरुले केही समयअघि विराटनगरका दुई व्यापारीलाई धम्की दिएर रकम मागेका थिए । तीमध्ये एक जनाबाट ५ लाख रुपैयाँ असुलेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

असार २५ गते र साउन १३ गते उनीहरुले बिराटनगरका व्यापारीलाई धम्क्याएर रकम मागेका थिए । उनीहरुले २५ असारमा रकम माग गरेका व्यापारीले विराटनगर गुद्री बजार कञ्चनबारी चोकमा पुगेर एक पटक एक लाख र एक पटक चारलाख रकम बुझाएका थिए । अर्का ब्यापारीले भने पटक पटक धम्की आएपछि प्रहरीलाई सूचना दिएका थिए ।

यस्तै प्रहरीले उक्त समूहको साथबाट एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने तीन राउण्ड गोली, नगद ९७ हजार रुपैया, १६ थान मोबाइल, कोटक महेन्द्रा नाम लेखिएको भारतीय बैंकको दुई थान चेक, तीनवटा मोटरसाइकल र एउटा चक्कु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई हातहतियार खरखजना, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाइएको खड्काले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार