कर्णाली प्रदेशमा ५२ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा ५२ जनामा कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप ५२ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालर/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३४ जना छन् । जसमा सात जना सुरक्षाकर्मी, चार जना कर्मचारी तथा दुई/दुई जना स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विद्यार्थी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।

त्यस्तै कालिकोटका चार जना, दैलेखका तीन जना, जुम्ला र हुम्लाका दुई/दुईजना, डोल्पा र जाजरकोटका एकरएकजना र अन्य प्रदेशका चार जना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ४९४ पुगेको छ ।

यस्तै महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप ६३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २९०५ पुगेको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार