भेन्टिलेटर र आइसियू अभाव भएको कर्णाली प्रदेशका जनप्रतिनिधिलाई दसैँ–तिहार भत्ता 

भेन्टिलेटर र आइसियू अभाव भएको कर्णाली प्रदेशका जनप्रतिनिधिलाई दसैँ–तिहार भत्ता 

कोरोना संक्रमणका बिरामीलाई उपचार गर्ने राम्रो भेन्टिलेटर र आइसियू अभाव भएको कर्णाली प्रदेशका जनप्रतिनिधि दसैँ–तिहारको भत्ता बुझेका छन् । अति गरिबी र विपन्न प्रदेशको परिचय पाएको कर्णाली प्रदेशका सांसद र उनीहरूका स्वकीय सचिवलाई कर्णाली प्रदेश सभा सचिवालयले चाडपर्व खर्च भन्दै रकम वितरण गरेको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभा सचिवालयले सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलका नेतालाई ५०–५० हजार, सत्तापक्षका प्रमुख सचेतक, सचेतक, प्रतिपक्ष दलका सचेतक र संसदीय समितिका सभापतिलाई ४८–४८ हजारका दरले चाडबाड खर्च वितरण गरिएको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, कर्णालीमा चारवटा संसदीय समिति, २४ जना सांसदलाई प्रतिसांसद ४५ हजार रुपैयाँका दरले चाडपर्व खर्च दिइएको छ । सभामुख, उपसभामुख र विपक्षी दलका नेताका स्वकीय सचिवलाई प्रतिव्यक्ति ३५ हजार नौ सय ९० रुपैयाँ, प्रदेश सांसदका ३१ जना स्वकीय सचिवले २८ हजार दुई सयका दरले आठ लाख ७४ हजार दुई सय रुपैयाँ वितरण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

कोरोना महामारी संकटका वेला पनि चाडबाड खर्च भनेर प्रदेश सभा सचिवालयले सभामुख, उपसभामुख र विपक्षी दलका नेताका स्वकीय स्वकीय सचिवलाई पनि २८ लाख ८९ हजार पाँच सय १० रुपैयाँ वितरण गरेको छ । प्रदेश सभा सचिवालयले उनीहरूको खातामा रकम जम्मा गर्न प्रदेश लेखा समितिलाई पत्र पठाइसकिएको प्रदेश सभा सचिवालयका लेखा अधिकृत यामबहादुर बिसीले जानकारी दिए । कर्णाली प्रदेश सभाका ४० जना सांसदमध्ये कोरोना संक्रमणको महामारीका वेला चाडपर्व खर्च नलिने भनेर कसैले संसद् सचिवालयलाई जानकारी गराएका छैनन् ।

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले कानुन अनुसार नै कर्णाली प्रदेश सभाका सदस्यलाई चाडपर्व खर्च दिइएको बताए । बुढाथोकीले चाडपर्व खर्च उपलब्ध गराउने कानुन बनेको र त्यहीअनुसार प्रदेश सभा सदस्यको खर्च वितरण गरिएको जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार