घाम लागे पढाइ, पानी परे बिदा

घाम लागे पढाइ, पानी परे बिदा

म्याग्दी । पहिरोले क्षतिग्रस्त विद्यालय पुनर्निमाण नहुँदा यहाँको एक विद्यालयका विद्यार्थी चिसो सिरेटोमा पनि बाहिर चौरमा बसेर पढ्न बाध्य छन्  । गत असार २६ गतेको भीषण वर्षापछि गएको पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण नहुँदा धौलागिरी गाउँपालिका–७ धारापानीस्थित किसानी माध्यामिक विद्यालयका शिक्षक/विद्यार्थी चिसो मौसममा पनि बाहिर चौरमा बसेर अध्ययन/अध्यापन गर्न बाध्य भएका हुन् ।

झट्ट हेर्दा पहिरो नदेखिए पनि तर भित्रभित्र जमिन चिरिएकाले विद्यालय भवन रहेको क्षेत्रसमेत पूरै बस्ती भासिएको छ । विद्यालय मात्र होइन, धारापानीका कम्तीमा ३० घर बस्न नमिल्नेगरी क्षतिग्रस्त भएपछि कम्तीमा एक सय ५० जना स्थानीय असार २७ देखि विस्थापित छन् ।

‘विद्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त छ । विद्यार्थी कक्षामा राखेर पढाउन सकिने अवस्था नै छैन । विद्यालय ब्यवस्थापन समितिदेखि गाउँपालिका प्रमुखहरु सवैले स्थिति देख्नु भएकै छ । ४ महिनाभन्दा बढी भयो, विद्यालय पुनर्निर्माण हुन सकेको छैन’ प्रधानाध्यापक ध्रुवबहादुर भण्डारीले भने, ‘गत भदौदेखि अनौपचारिक र मंसिर ८ गतेदेखि औपचारिक रुपमा विद्यालय खुलेको छ, घाम लाग्दा चौरमा राखेर पढाउँछौं, पानी पर्दा स्कुल नै बिदा हुन्छ ।’

कोरोना कहरका कारण बन्द भएका विद्यालय मंसिर दोस्रो सातादेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिहान ८–१२ र १२–५ बजेसम्म सञ्चालन गरिएको छ । बिहान घाम नझुल्किदै शीतले लछप्पै भिजेको चिसो चौरमा बस्नु पर्ने र साँझ शीत पर्न सुरु हुँदासम्म चिसो सिरेटोमा बाहिर चौरमा बसेर अध्ययन अध्यापन गर्नु पर्दा सास्ती भएको छ ।

१० कक्षासम्म अध्ययन/अध्यापन हुने विद्यालयमा २ सय ८० जना विद्यार्थी अध्ययनरत छन् । मावि तहका तीन जना राहत शिक्षकसमेत १३ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।

‘भर्खरै नयाँ भवन बन्न सक्ने अवस्था छैन । जस्तापाताको अस्थायी छाप्रो बनाउन पनि विद्यालय एक्लैले नसकेपछि गाउँपालिकालाई गुहारेका छौं,’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले भने, ‘हिउँदको कठ्याङ्ग्रिने जाडो, त्यसमाथि धौलागिरी हिमालबाट सोझै ठोक्किन आउने सिरेटोले आफ्नै छोराछारीलाई सास्ती भएको छ । अब हिउँ पर्ने बेला भयो, खेल मैदानमा जस्ता पाताको छाना र जस्ताकै बार लगाएर अस्थायी विद्यालय बनाउने प्रयासमा छौं । स्रोत सुनिश्चित भएपछि काम थाल्छौं ।’

ढुङ्गेछाना भएको विद्यालयको १९ कोठे भवन बस्नै नमिल्ने गरी भत्किएको हो । कक्षाकोठाहरु धुजाधसजा भई फाटेका छन्, भित्ता भत्किएको छ, छानो दबिएको छ । विद्यालयको छुट्टै चार कोठे आरसीसी भवन पनि चर्किएको छ । चर्किएको भए पनि यही भवनमा विद्यालयको कार्यालयसमेत अन्य महत्वपूर्ण कागजात, सामग्री राखिएको छ । छात्रा, छात्र र शिक्षक कर्मचारीका छुट्टाछुट्टै तीन वटा शौचालय पनि भत्किएका छन् ।

‘हामीले किसानी मावि धारापानीको अस्थायी भवन बनाउन प्राविधिकबाट लगत इस्टिमेट गराएका छौं । मंसिरभित्र विद्यालयको अस्थायी संरचना तयार गरी विद्यार्थीलाई बाहिर शीतबाट कक्षाकोठामा सार्छौं,’ इन्जिनियरसहित क्षतिग्रस्त विद्यालय पुगेकी धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘अहिले भूगर्भविद्हरु गत असार २६ गतेको भारी वर्षापछि गएको पहिरोग्रस्त क्षेत्रको अध्ययनमा हुनुहुन्छ । हामी गाउँपालिकाभित्रका धारापानी समेत कम्तीमा चार वटा बस्तीको रिसेटलमेन्ट गराउने योजनामा छौं । किसानी मावि रहेको जमिनको पनि अध्ययनपछि नयाँ संरचना बनाउने प्रक्रिया सुरु हुन्छ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार