महिलाले किन बनाउँछन् घरेलु रक्सी ?

Corona-Ad-Raptisonari

महिलाले किन बनाउँछन् घरेलु रक्सी ?

Florence Ad

केहीसमयअघि सामाजिक सञ्जालमा सांसद उषाकला राईले दिएको “घरेलु रक्सीलाई ‘ब्यान्ड’ हैन ‘ब्रान्ड’ गरेर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ” भन्ने अभिव्यक्ति भाइरल भयो। तर, वास्तविकता उहाँको अभिव्यक्तिभन्दा भिन्न छ।

पल्टने बुवाको अनुपस्थितिमा आमाले घरमूलीको भूमिका निर्वाह गर्नु हुन्थ्यो। कंकट (घरेलु बिँडी) खाने र दिउँसो भाती जाँड खाएर एकछिन ढल्कने उहाँको बानी थियो। राति सुत्नुअघि उहाँ कहिलेकाहीँ आफैले बनाएको एक गिलास घरेलु मदिरा पिउनु हुन्थ्यो।

मधु राई
आमाले निर्वाह गर्ने बहुभूमिकासँगै आमाका ती आनीबानी मेरो मानसपटलमा ताजै छन्। कहिलेकाहीँ कंकट सल्काउन मलाई भान्सामा पठाउनु हुन्थ्यो। नसल्किएपछि एक सुर्का तान्थेँ। अनि मात्र सल्कन्थ्यो। धन्न बानी भने परिनँ।

त्यति वेला घरघरमै मदिरालगायत कोदो र चामलको जाँड बनाउने चलन थियो। आमाले बनाउने ती मदिराजन्य वस्तुमध्ये कोदो र चामलको जाँड तथा तोङ्बा कस्तो भयो भनेर चाख्नु पथ्र्यो। पाहुनालाई आदरसत्कार गर्न ती सामग्री चाहिन्थ्यो। बुवाले मासिक पठाउने पैसा अपुग हुँदा आमाले तिनै मदिराजन्य वस्तु बेचेर गर्जो टार्र्नु हुन्थ्यो।

अतिरिक्त आम्दानीको अन्य स्रोत नभएको त्यो वेला अधिकांश छरछिमेकी पनि आमाले जस्तै आफूले उत्पादन गरेका मदिराजन्य वस्तु बेच्ने र खाने गर्दथे। आमा भने अतिरिक्त आम्दानीका लागि हाते मिसिनमा छिमेकीहरुको लुगा पनि सिलाउनु हुन्थ्यो। हामी दुई दिदी–बहिनी आमालाई सिलाउने काममा सघाउथ्यौँ।

आमा हामी तीनजना छोराछोरीलाई बिहान बेलुकी पढ्न बसाउनु हुन्थ्यो। ‘पढे सुख पाइन्छ, नपढे दुःख’ भन्नुहुन्थ्यो। उहाँ आफैँ पनि साक्षर हुनुहुन्थ्यो।

एकदिन बजार जाँदै गर्दा एउटा कुकुरले उहाँलाई टोक्यो। तिनताक रेबिजको पनि घरेलु औषधोपचार गरिन्थ्यो। वैद्यले उपचारपछि आमालाई तीन महीना मदिरालगायत मांसाहारी भोजन परहेज गर्न लगाए। तर, सक्नु भएन। ४७ वर्षको उमेरमा उहाँले असामयिक मृत्युवरण गर्नुपर्‍याे। यसरी मदिराले उहाँको ज्यानै लियो।

आमाले गर्ने बहुभूमिका अचेल पनि टोलछिमेकका धेरै महिलाले गरिरहेका छन्। कतिपय अवस्थामा उनीहरुले पनि श्रीमानको अनुपस्थितिमा आर्थिक गर्जो टार्न वा अतिरिक्त आम्दानी स्रोत बनाउन मदिरा बेचबिखन पनि गर्छन्। कतिपयले त सेवानिवृत्त भएपछि अतिरिक्त आम्दानीका लागि मदिराजन्य वस्तु उत्पादन गर्ने गरेका छन्। कतिपयले मदिरा पसल चलाउँछन्।

यसरी मदिरा बनाउने वा पसल सञ्चालन गर्ने कतिपयले सेवन पनि गर्छन्। अरु समुदायको तुलनामा जनजाति समुदायमा मदिरा व्यवसाय गर्नु र सेवन गर्नु सामान्य देखिन्छ। तथापि  यसको बिक्री वितरणभन्दा पनि नियमित र अत्यधिक सेवनले घरपरिवारमा पर्ने चौतर्फी असरबारे बिक्रेता र सेवनकर्ताहरुको ध्यान पुगेको छैन।

नियमित र अत्यधिक मात्रामा मदिरा सेवन गर्ने महिला होस् या पुरुष, उनीहरुको सरदर आयु अरुको तुलनामा कम हुने विभिन्न अध्ययनले देखाएको छ। यसमा कति सत्यता छ भन्ने जान्न हामीले आफ्नै घरपरिवार र टोलछिमेकमा हेरे पुग्छ। गएको २०/२२ दिनभित्रै मैले नजिकबाट चिनेका तीनजना जनजाति महिलाले मदिराकै कारण ज्यान गुमाए।

मदिराकै कारण अभिभावकत्व गुमाएका बालबालिकाहरु सडकमा पनि पुगेका छन्। नयमित जसो अत्यधिक मात्रामा मदिरा सेवन गर्नेहरुले छोराछोरीको भविष्य मात्र अन्धकारमय बनाएका छैनन्, महिलाको जीवन कष्टकर पनि बनेको छ। घरेलु हिंसा, बलात्कारलगायत हत्याका घटना निम्त्याउने थुप्रै कारणमध्ये मदिरा पनि एक हो।

अचेल त जुनसुकै समुदाय र वर्गमा मदिरा सेवन गर्नेको संख्या बढ्दैछ। तथापि पुरुषहरुले मदिरा सेवन गर्दा सामान्य देखिए पनि महिलाले सेवन गरे असमान्य जस्तै देखिन्छ। विशेष गरी जनजाति समुदायमा बिहेभोज, कुल देउता पूजा, उभौंली, उद्यौलीलगायत चाडबाडमा मदिरा चाहिन्छ। मदिराविनाको भोजभतेर नूनविनाको तिहुनजस्तै हुने गरेको छ। हुनेखाने शिक्षित जनजातिहरुले छोराछोरीको बिहे गर्दा छुट्टै हल वा कोठामा विभिन्न परिकारको भुटनसहित देशीविदेशी मदिराले पाहुनाको स्वागत गर्छन्।

चिसो पेय पदार्थलगायत मांसाहारी भोजनसम्म नगर्ने म आफूलाई यस्ता जमघटमा धेरै पटक ‘हाँसको बथानमा बकुल्ला’ महसुस गरेको छु। तर, अधिकांश महिलाहरुले पुरुष सरह नै मदिरा सेवन गरेको देख्दा ‘साँच्चै नै जनजाति महिलाहरु अरु समुदायको तुलनामा अगाडि छौं’ भन्ने लाग्छ।

बाहिरबाट हेर्दा जनजाति समुदाय अरु समुदायको तुलनामा प्रजातान्त्रिक र प्रगतिशील देखिए पनि पितृसत्ता भने हावी छ। बहुसंख्यक जनजाति महिलाहरु मूल प्रवाहीकरणबाट टाढिएका छन् भन्ने विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाउने गरेको छ।

मदिरा उत्पादन र व्यवसाय थालेका  महिलाहरुका श्रीमानले नियमित मदिरापान गरिदिँदाको पीडा अझ कहाली लाग्दो छ। कतिपय यस्ता महिलाहरुले श्रीमानकै कारण आजित भएर आफूले पनि मदिरा सेवन गर्न थालेको बताउँछन्। दिनहुँ मदिरा सेवन गर्ने श्रीमानले बाहिर गएर नखावोस् भनेर पनि उनीहरुले घरेलु मदिरा उत्पादन र बिक्री गर्ने गरेको देखिन्छ।

समग्रमा जनजाति समुदाय नै मूलधारे विकासमा पछि पर्दै र पारिदैँँ आएको छ। यसरी पछाडि पारिनुका थुप्रै कारणहरुमध्ये पितृसत्ता पनि एक हो। किनभने अझै पनि अधिकांश महिलाहरुले घरपरिवारभन्दा बाहिरको समाज देखेका छैनन्। जागिरको सिलसिलामा देशविदेश घुमेका पुरुषहरु श्रीमतीलाई ‘आइमाई भनेको घरमै बस्नुपर्छ’ भन्ने गर्छन्।

श्रीमानको यस्तो आदेश शिरोधार्य गर्न बाध्य बहुसंख्यक महिलाले घरपरिवारका लागि आफ्नो  उत्पादनशील उमेर मात्र खर्चेका छैनन्, कतिपयले आफूले जानेको सीप र ज्ञानसमेत तिलाञ्जली दिएका छन्। यसरी जनजाति महिलाले आफ्नो अतृप्त इच्छा आकांक्षालगायत अव्यक्त पीडाहरु भुल्न मदिराको सहारा लिएको देखिन्छ।

यिनै विषय समेटेर सञ्चारकर्मी सिकुमा राईले हालै ‘कम ओभर फर अ ड्रिङ्क, कान्छी’ भन्ने वृत्तचित्र निर्माण गरेकी छिन्। जसमा मदिराजन्य वस्तु उत्पादन, बिक्री र सेवन गर्नेहरुको जीवनशैली समेटिएको छ। वास्तवमा वृत्तचित्रमा देखाएजस्तै मदिराजन्य वस्तु उत्पादन, बिक्री र सेवन गर्नेहरुको जीवनशैली आज पनि उस्तै छ। गाउँघरको तुलनामा नगरबासी ‘हुनेखाने’ मदिराप्रेमीको जीवनशैली केही फरक देखिन्छ। तर, मदिराजन्य वस्तु उत्पादन र बिक्री गर्नेहरुको जीवनशैलीमा तात्विक भिन्नता छैन।

मदिरा उत्पादन र व्यवसाय थालेका  महिलाहरुका श्रीमानले नियमित मदिरापान गरिदिँदाको पीडा अझ कहालीलाग्दो छ। कतिपय यस्ता महिलाहरुले श्रीमानकै कारण आजित भएर आफूले पनि मदिरा सेवन गर्न थालेको बताउँछन्। दिनहुँ मदिरा सेवन गर्ने श्रीमानले बाहिर गएर नखावोस् भनेर पनि उनीहरुले घरेलु मदिरा उत्पादन र बिक्री गर्ने गरेको देखिन्छ।

मदिरापान गर्ने आमाबुवाका कारण छोराछोरीले पढ्ने वातावरण पाउँदैन। कालान्तरमा पढाइ छाड्छन्। जेनतेन स्कुले शिक्षा हासिल गरेका यस्ता घरका छोराछोरीले कलिलै उमेरमा घरजम गर्छन्। अनि आफ्नै आमाबुवाको सिको गरेर मदिरा बिक्रेता र सेवनकर्ता बन्छन्।

केहीसमयअघि सामाजिक सञ्जालमा सांसद उषाकला राईले दिएको “घरेलु रक्सीलाई ‘ब्यान्ड’ हैन ‘ब्रान्ड’ गरेर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ” भन्ने अभिव्यक्ति भाइरल भयो। तर, वास्तविकता उहाँको अभिव्यक्तिभन्दा भिन्न छ। पुरुषभन्दा पनि घरेलु मदिरा उत्पादनमा महिलाहरुको सीप र समय खर्चने हुँदा यसबारे हाम्रा जनप्रतिनिधिहरु संवेदनशील हुनुपर्छ।

सांसद राईले भने जस्तै घरेलु रक्सीलाई ब्रान्ड गरी निर्यात गर्ने हो भने त्यसै गरी सरकारी प्रक्रिया थाल्नु पर्‍याे। हाम्रा जनप्रतिनिधिहरुले आफ्नो क्षेत्र, गाउँ, वडा र टोलहरुमा घरेलु मदिरा उत्पादन र  बिक्री वितरण गर्ने बारेमा आधारभूत सर्वेक्षण गर्न जरुरी हुन्छ। किनभने गाउँघरमा  मात्रै हैन, महानगर र नगरपालिकाका कतिपय वडामा अहिले पनि घरेलु मदिरा उत्पादन र बिक्री गर्नेहरुको संख्या बढ्दैछ।

आम्दानीको अन्य स्रोत नभएको कारण पनि विकल्पको रुपमा घरेलु मदिराजन्य वस्तु उत्पादन र बिक्री गर्न बाध्य छन् भन्ने बुझ्न जरुरी छ। यस्तै मदिरामुक्त घरपरिवारमा मात्रै बालबालिका, युवा तथा महिलाहरुले शिक्षा र स्वास्थ्यलगायत मौलिक अधिकारहरु उपभोग गर्न पाउँछन्। यिनीहरु नै विकास र समृद्धिका संवाहक हुन्। त्यसैले मदिरामुक्त समाज निर्माण हुन सकेमात्र विकास र समृद्धिले गति लिन्छ। (हिमालखबरबाट)

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad