लक्ष्मण केसी
रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका दुवैजना व्यक्तिमा कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।
चैत १० गते भारत बाट गाउँ फर्किएका बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ का यी व्यक्तिको बुधबार पीसीआर (पोलिमरेज चेन रियाक्सन) परीक्षणमा नतिजा शंकास्पद देखिएपनि उनीहरुमा कुनै लक्षण देखिएको छैन । शंकास्पद दुबैजना पुरुष हुन ।
शंकास्पद रिपोर्ट देखिएका दुवैजना लाई बुधबार मुसिकोट नगरपालिकाको एम्बुलेन्सलेमा लिएर चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसन बेडमा राखिएको छ ।
अस्पतालका प्रशासक डिलबहादुर गिरीले टेलिफोनमा उजेली न्यूज सँग भन्नु भयो दुबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उहाँले भन्नुभयो हिजो साँझ देखि डाक्टरको प्रत्यक्ष निगरानी रहने गरि आइसोलेसनमा राखेका छौ सबै ठिक छ काठमाडौ पठाएको रिपोर्ट नआएसम्म केहि भन्न सकिएन । उनीहरुलाई कोरोना भाइरस संक्रमण पछि देखिने कुनै प्रकारका लक्षणहरु नदेखिएको प्रशासक गिरीले बताउनु भयो ।
बुधबार साँझ नै ती व्यक्तिको स्वाबको नमुना पुनः परीक्षणको लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको छ ।
यस्तै पीसीआर पोजिटिभ देखिका परिवारका सदस्य र उनीसँग सम्पर्कमा आएका केही व्यक्तिहरुको परीक्षणको लागि आज बाँफिकोट ६ र ७ नम्बर वडामा सुर्खेतको प्रयोगशाला बाट आएको एक टोलि त्यस तर्फ प्रस्थान गरेको छ ।