हरिजनको आत्महत्यामा रोल्पा कारागार प्रशासनको लापरबाही : छानबिन समिति

हरिजनको आत्महत्यामा रोल्पा कारागार प्रशासनको लापरबाही : छानबिन समिति

रोल्पाको कारागारभित्र कैदी सुन्दर हरिजनले आत्महत्या गर्नुमा कारागार प्रशासनकै कर्मचारीको लापरबाही भएको छानबिन समितिको निस्कर्ष छ।

समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई कारागारभित्रका कमजोरी र सुधार गर्नु पर्ने पक्षसहितको प्रतिवेदन बुझाएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।
गृहमन्त्री बालकृष्ण खाणले प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताए।

गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझ्दै घटनामा प्रतिवेदनले दोषी औँल्याएकालाई कानुन अनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने बताएका हुन्।

घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा ५ सदस्यीय समिति गठन भएको थियो। समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थए।
समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालिन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटी गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार